आइतबार, मंसिर २, २०८१
15:04 | २०:४९

नेपालका वरिष्ठ नेत्र चिकित्सक प्रा. डा. पन्तसंग लन्डनमा अन्तरक्रिया

नेपाली लिङ्क नोभेम्बर १७, २०२४

लन्डन – एकजना वरिष्ठ चिकित्सक प्रा. डा. चेतराज पन्तले स्वास्थ्य सेवाका हिसाबले पछाडि रहेको सुदूर पश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न अत्यन्त जरुरी भएको बताएका छन्।

शनिबार बेलुका सुन्दर सुदूर पश्चिम कम्युनिटी यूकेद्वारा लन्डन साउथ ह्यारोमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रा. पन्तले नेपालमा कूल शिशु मृत्युदर प्रति हजार २५ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार ५० रहेको बताए।

त्यस्तै नेपालमा ५ वर्ष मुनिका बालबालिकाको औसत मृत्यु दर प्रति हजार ३३ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार झन्डै तीन गुना बढी अर्थात् ९० रहेको र नेपालमा प्रति एक लाखमा मातृ मृत्यु दर औसत १८६ रहेकोमा सुदूर पश्चिम प्रदेशमा भने ३०० प्रति एक लाख रहेको उनले बताए। ‘त्यसैले बाँकी नेपालको तुलनामा निक्कै पछाडि रहेको सुदूर पश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न एउटा अधिकार सम्पन्न चिकित्सा विश्वविद्यालय खोल्नुको विकल्प छैन,’ उनले भने।

नेपाल नेत्र ज्योति संघका अध्यक्ष पनि रहेका वरिष्ठ नेत्र चिकित्सक प्रा पन्तले नेपाल सरकारले मेडिकल कलेज स्थापना गर्न भनेर तोकेको कैलाली गेटास्थित मेडिकल कलेजलाई नै मेडिकल विश्वविद्यालय बनाउन आग्रह गरे।

‘७२ बिगाहा क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठनपाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरु बनिसकेका छन् वा बन्ने क्रममा छन्। विश्वविद्यालय बन्यो भने हाल संचालनमा रहेको गेटा आँखा अस्पताललाई हामीले विश्वविद्यालयको आँखा विभागको रुपमा हस्तान्तरण गर्नेछौं’, प्रा पन्तले भने।

नेपाल सरकारले गत वर्ष संघीय संसदमा पेश गरेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेश हुने क्रममा छ। ‘हामी उक्त विधेयक संसदको यसै हिउँदे सत्रबाट पारित गरिदिन सम्पूर्ण राजनीतिक दल र सांसदहरुलाई आग्रह गर्दछौं’, गेटा मेडिकल कलेज प्रवर्धन तथा विकास समितिका पूर्व अध्यक्ष समेत रहेका प्रा पन्तले भने।

प्रा. डा. चेतराज पन्त

प्रस्तावित विश्वविद्यालय संचालन गर्न धेरै खर्च लाग्ने र प्राध्यापकहरु जुटाउन गाह्रो हुने जस्ता टिप्पणीहरु सही नभएको पनि उनले बताए। ‘अहिले नेपाल सरकारले विभिन्न चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानहरुका लागि जति रकम दिने गरेको छ, वर्षेनी त्यति नै रकम दिएमा आवश्यक थप श्रोत खोजेर थप हामी विश्वविद्यालय संचालन गर्न सक्छौं’- प्रा. पन्तले भने।

धनगढीमा रहेका निजी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरु रहेको र विश्वविद्यालय बन्ना साथ विशेषज्ञ फ्याकल्टीको अभाव नहुने पनि उनले जिकिर गरे।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको एक वर्ष भित्रै कम्तीमा ५० जना विद्यार्थी लिएर एमबीबीएस कक्षा सञ्चालन गर्न सकिने योजना उनले सुनाए। एमबीबीएस बाहेक ‘एलाइड हेल्थ साइन्स’ अन्तर्गत ल्याब, नर्सिङ्ग लगायत १५ वटा विधामा विश्वविद्यालयले आफैं कक्षा सञ्चालन गर्न सक्ने पनि उनले बताए ।

‘यो विश्वविद्यालयको पाठ्यक्रम’कम्युनिटी बेस्ड मेडिकल एडुकेशन’ मा आधारित हुनेछ। हाम्रा विद्यार्थी र प्राध्यापकहरु समुदायमै गएर पढ्ने छन् र सिक्ने छन्। सुदूर पश्चिम प्रदेशका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ। ख्यातिप्राप्त अन्तरराष्ट्रिय विश्वविद्यालयहरुसंग सहकार्य गर्नुका साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एउटा अनुसन्धान केन्द्रको रुपमा पनि काम गर्ने छ। सुदूर पश्चिम क्षेत्रका स्वास्थ्य सूचकहरु अहिले नेपालको औसतसम्म ल्याउन पनि हामीलाई एउटा शक्तिशाली तथा स्वायत्त चिकित्सा विश्वविद्यालय चाहिएको हो’, उनले भने।

सुन्दर सुदूर पश्चिम कम्युनिटी यूकेका अध्यक्ष खेमराज जोशीले शिक्षा, स्वास्थ्य लगायत आधारभूत सुविधामा अझै पछाडि परेको सुदूर पश्चिम प्रदेशमा चिकित्सा विश्वविद्यालय खोल्न आफूहरुले सक्दो सहयोग गर्ने वाचा गरे।

उक्त अन्तरक्रियामा श्याम चन्द, सुरेन्द्र भण्डारी, डा. पुष्पराज पन्त, भानबहादुर चन्द, श्रीमति सुनिता अधिकारी, योगेश महत लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू