मंगलबार, मंसिर ४, २०८१
22:42 | ०४:२७

७ महाद्वीपमा सात दिनभित्र ७ वटै म्याराथन पूरा गर्ने यात्रामा कर्माचार्य

नेपाली लिङ्क नोभेम्बर १८, २०२४

लन्डन– अमेरिकाको बोस्टनमा रहेका नेपाली धावक सन्तोष कर्माचार्यले ७ दिनमा ७ वटा महाद्वीपमा ७ वटै म्याराथन दौड्न शुरु गरेका छन् ।

‘ग्रेट वर्ल्ड रेस’ मा कर्माचार्यले पहिलो म्याराथन १४ नोभेम्बरमा अन्टार्कटिका महाद्वीपमा सकेर अफ्रिकाको केप टाउन, अष्ट्रेलिया महाद्वीपको पर्थ र एसिया र युरोप महाद्वीप दुवै छुने एकै देश इस्तान्बुल टर्कीमा आइतबार सम्पन्न गरे ।

अब दक्षिण अमेरिकाको कार्टाजिना शहर र उत्तर अमेरिका महाद्वीपको मियामी म्याराथन बांकी छ । सातौं तथा अन्तिम म्याराथन २० नोभेम्बर बिहीबार बिहान मियामीमा समापन हुने तालिका छ ।

द ग्रेट वर्ल्ड रेसमा १५ देशका ५४ जना प्रतिष्पर्धी एक हप्तामा सात महादेशमा सात म्याराथन पुरा गर्ने लक्ष्यका साथ दौडमा सामेल छन्। दौड पुरा गर्ने धावकलाई इन्टरकन्टिनेन्टल म्याराथन क्लबबाट मान्यता प्राप्त हुनेछ ।

सात दिनमा ७ महाद्वीपमा ७ वटै म्याराथन दौड्ने सम्भवतः दक्षिण एसियामा आफू पहिलो धावक भएको सन्तोषले बताए ।

एउटा महाद्वीपमा दौड सकेर अर्को महाद्वीपमा शुरु गर्न ‘कट अफ टाइम’ ८ घण्टामात्र हुने भएकाले यो निकै चुनौतिपूर्ण रहेको उनले बताए । ‘यो शारीरिक रूपमा मात्र चुनौतीपूर्ण होइन् । यसका लागि अपार मानसिक बल र पर्याप्त आर्थिक प्रतिवद्धता पनि चाहिन्छ’, उनले भने ।

धावकहरुले चार्टर फ्लाइटबाट यात्रा गर्छन् र उनीहरु सातदिनमा करिब ६० घण्टा उड्छन् । म्याराथनका लागि आफ्नो ४३ हजार पाउण्ड खर्च लाग्ने उनले जनाए ।

संसारको सबैभन्दा अविश्वसनीय चुनौती सामना गर्न हौसला दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

उनले केही साताअघिमात्र अष्ट्रेलियामा भएको ‘वर्ल्ड ट्रायथलन’ मा लन्डनका सन्तोष राईका साथ पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गरेका थिए ।

बोस्टनमा योगा सेन्टर चलाइरहेका कर्माचार्य मानिसको शरीर बनाउने बडी मेकानिक्स पनि हुन् ।

धावक सन्तोष कर्माचार्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू