आइतबार, पुष ७, २०८१
13:56 | १९:४१

लन्डनमा उल्लासबीच मनाइयो नेपाल संवत

नेपाली लिङ्क नोभेम्बर १०, २०२४

लन्डन । पासा पुचः गुथि यूके, लन्डनले ९ नोभेम्बर शनिबार नेपाल संवत (न्हूदँ) ११४५ एक विशेष समारोहबीच मनाएको छ ।

नेपाल संवत उत्सवमा करिब तीन सय सहभागी थिए । कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि थिए । 

सो अवसरमा सहभागीहरूलाई पञ्चकन्याद्वारा परम्परागत टिका एवं जजन्का र समय्‌बजिले स्वागत गरिएको थियो । यसले माहोल अझ रोचक बनाएको थियो । 

कार्यक्रमको औपचारिक उद्घाटन कार्यवाहक राजदूत विपिन दुवाडी, पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापति र पासा पुचः गुथि यूके, लन्डनकी अध्यक्ष श्रीमति रुक्मणी मानन्धरले गरेका थिए । 

सो अवसरमा उनीहरूले वार्षिक ‘गुथि’ पत्रिकाको २४ औं संस्करण विमोचन समेत गरे । पासा पुचः गुथि यूकेले उक्त पत्रिका २४ वर्षदेखि प्रकाशित गर्दै नेवा जातीको परम्परा र धर्म संस्कृतिलाई प्रवर्धन गर्दै आएको छ ।

कार्यक्रमको मुख्य आकर्षण बनेको थियो प्रोफेसर डेभिड गेलनरको सम्मान । नेवार र नेपाली संस्कृतिको अध्ययनमा उनको उल्लेखनीय योगदानवापत संस्थाले गेल्नरलाई विशेष सम्मान गरेको थियो । उनी अक्सफोर्ड विश्वविद्यालयबाट हालै सेवानिवृत्त भएकामा पनि शुभकामना दिइयो।  

नेपाल संवत उत्सवमा भिन्तुना र्‍यालीसहित धीमे बाजा, कुमारी नृत्य, लाखे नृत्य साथै परम्परागत नेवा र नेपाली गीत एवं नृत्यहरूका साथ मनमोहक सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो। साथै लाखे आजु र धिमे बाजाका साथ हल परिक्रमा गरि कुमारी यात्रा समापन भएको थियो ।

कार्यक्रममा नेवारी खाना जस्तै नेवा भ्वय्, मःम, योमरी र पेय पदार्थका स्टलहरू पनि समावेश थिए जसले मौलिक नेवा खाना र पर्वको झझल्को दिएको थियो । 

कार्यक्रममा बालबालिकाहरु अस्थायी ट्याटु र परम्परागत मास्क पेन्टिङमा रमाएका थिए । कार्यक्रमको अन्त्यमा ‘राफल ड्र’ पनि समावेश थियो भने पाहुनाहरू डिजेद्वारा बजाइएको नेवारी गीतहरू र प्रत्यक्ष धीमे बाजाको प्रस्तुतिमा नृत्य गर्न व्यस्त रहे ।

उक्त कार्यक्रम महासचिव लिसा दली श्रेष्ठले धन्यवाद ज्ञापनसहित समापन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू