आइतबार, पुष ७, २०८१
13:56 | १९:४१

इन्टरपोल महासभामा सहभागी भएर बेलायतबाट फर्किए प्रहरी महानिरीक्षक कुँवर

नेपाली लिङ्क नोभेम्बर १०, २०२४

लन्डन–– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्य (यूके) को ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता भएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता भएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए ।

महासभामा नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो ।

महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरू सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल प्रमाणमा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनकालागि विभिन्न देशबाट पेश गरिएका प्रतिवेदनहरू, वार्षिक वित्तीय प्रतिवेदन र वित्तीय विवरण २०२३, विभिन्न कार्यक्रमसहित २०२५ का लागि मस्यौदा बजेट, Indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुन:निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो ।

महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो । उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका भ्यालडेसी युरक्यूजा मनोनयन भएको घोषणा समेत गरियो ।

महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीन र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन कात्तिक १८ गते बेलायत आएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू