शुक्रबार, पुष १२, २०८१
01:21 | ०७:०६

भूकम्पविद् डा. सुवेदीले लन्डनमा पाए ‘द जोन म्याडक्स् जज कमेन्डेसन’ पुरस्कार

नेपाली लिङ्क नोभेम्बर ७, २०२४

लन्डन । नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स् प्राइज २०२४ मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन्।

बुधबार लन्डनमा आयोजित एक समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो ।

भूकम्पविद्का रुपमा नेपालमा काम गरिरहेका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीका लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो।

सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्न भूकम्प शिक्षामार्फत उल्लेख्य काम गरिसकेका छन् । यो वर्षको अवार्डमा मनोनयमा छनोट भएका ८ जना वैज्ञानिकमध्ये विकासोन्मुख मुलुकबाट मनोनयनमा पर्ने सुवेदी एक्ला वैज्ञानिक थिए ।

हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ । विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिका लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ ।

डा. सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पूर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर आवाज उठाइरहेका छन्।

सुवेदी नेपालका गीतकार तथा संगीतकार पनि हुन् । उनले लेखेका घामजस्तो चम्किलो हुन हुदैन, भूमरीमा परें भने म, किन यस्तो हुन्छ, भुल्ने भयो धौ, बाँचेको छु धन्न, नरोउ है आमालगायत दर्जनौं गीत लोकप्रिय छन्।

हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविदको रुपमा कार्यरत सुवेदी संगीत र विज्ञान दुवै क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू