आइतबार, पुष ७, २०८१
13:10 | १८:५५

लन्डनमा बेक्सली नेपाली समाजले खेल्यो मौलिक देउसीभैलो

माया गुरुङ नोभेम्बर ५, २०२४

लन्डन- बेक्स्ली नेपाली समाज यूकेले विगत जस्तै यसपटकको तिहारमा पनि मौलिक देउसीभैलो आयोजना गरेको छ। समाजले घरघरमा पुगेर तीन दिनसम्म खेलेको देउसीभैलो नेपालकै जस्तो निकै रमाइलो र परम्परागत शैलीको थियो।

पहिलो दिन समाजकी सल्लाहकार माया गुरुङद्धारा अध्यक्ष डा. हरिश ज्ञवालीलाई मखमली र सयपत्री फूलको मालाका साथमा ढाकाको टोपी पहिर्यााएर देउसी भैलो कार्यक्रम शुभारम्भ गरिएको थियो ।

सो अवसरमा समाजका अध्यक्ष डा. ज्ञवाली, संस्थापक अध्यक्ष केशबहादुर गुरुङ तथा पूर्व अध्यक्षद्वय विजय बहादुर गुरुङ र आनन्द धरेलले मन्तव्य दिंदै तिहारको शुभकामना दिएका थिए।

साँझपख नेपाली पहिरनमा सजिएका महिला, पुरुष र केटाकेटीहरु मखमली र सयपत्री फूलको माला पहिरिएरर बत्तीहरुले झिलिमिली सजिएका घरदैलो पुगेर मादल घन्काउँदै देउसी भैलो खेल्दै, नेपालीपन झल्काउने नाँचगान गर्दै गरेको दृश्य हेर्दा बेलायतमा नभइ नेपालमै भएको भान हुन्थ्यो । यसरी स-साना नानीबाबुसमेत सक्रिय भएर सहभागिता जनाएको देउसीभैलो मनोरञ्जनत्मक मात्र थिएन, प्रवासीहरुको लागि सन्देशमुलक पनि थियो।

देउसीभैलोलाई समाजका धेरै सदस्यले आफ्ना घरमा निम्तो गरेको भएपनि समय अभावले तीन दिनमा जम्मा ७ घर पुगेर नाचगान गरिएको थियो । समाजका सदस्यहरु ईन्द्र गिरी,रिजु अधिकारी, उमेश गौतम, नलिनी शर्मा, मनीष भारद्वाज, वासु अर्याल र प्रदीप चालिसेका घरमा देउसीभैलो खेलिएको थियो ।

नेपाली मौलिक भेषभूषामा नेपाली संस्कार, संस्कृति र पहिचानको जगेर्ना गर्दै लुना अधिकारी न्यौपाने, सेजल गौतम, ईभा थापा, सुभ्रित गौतम र रोशन गौतमले नेपाली नृत्य र नाचगान प्रस्तुत गरेका थिए । तयसैगरी देउसीभैलो भट्याउनेहरूमा हेमान्त सेढाईं, विमला सेढाईं, उपाध्यक्ष केदार थपलिया, वसन्त सापकोटा, उपाध्यक्ष बिजिता गौतम र सविता बराल थिए ।

समाजका उपाध्यक्ष बाला प्रसाईं संयोजक रहेको देउसी भैलो कार्यक्रम अहिल्या कुँवरले सञ्चालन गरेकी थिइन्।

विदेशमा रहेर पनि समाजको देउसीभैलोलाई आफ्नो घरमै निमन्त्रणा गरी दक्षिणासंगै आत्मीय आतिथ्य सत्कार प्रदान गर्ने सबैप्रति समाजले आभार प्रकट गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू