सोमबार, पुष ८, २०८१
02:00 | ०७:४५

राष्ट्रपति र प्रधानमन्त्रीले बहिनीहरुबाट लगाए टीका

रासस नोभेम्बर ३, २०२४

काठमाडौँ, कात्तिक १८ गते–राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।

उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा बहिनीहरुबाट टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

उत्तम साइतपछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू