आइतबार, पुष ७, २०८१
13:42 | १९:२७

बेलायतमा श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी

सन् २०२५ अप्रिलबाट न्यूनतम ज्याला १२.२१ पाउण्ड प्रति घण्टा

नेपाली लिङ्क अक्टोबर ३०, २०२४

लन्डन । बेलायत सरकारले श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि गर्ने तयारी गरेको छ ।

सन् २०२५ अप्रिलबाट लागू हुने गरि प्रति घन्टा फुलटाइम काम गर्ने २१ वर्ष माथिका श्रमिकहरुको न्यूनतम ज्याला ६.७ प्रतिशतले वृद्धि गर्न लागिएको अर्थमन्त्री र्‍याचेल रिभ्सले बताएकी छन् ।

जस अनुरुप हाल दिइएको प्रति घण्टा ११.४४ पाउण्डबाट आगामी वर्ष अप्रिलबाट १२.२१ पाउण्ड अर्थात प्रति घण्टा ०.८७ पेन्सले वृद्धि हुनेछ । सरकारले घोषणा गर्न लागेको यो निर्णयले ३० लाख बढी श्रमिक लाभान्वित हुने बताइएको छ।

यो वृद्धिसंगै आगामी वर्षदेखि उनीहरुको वार्षिक आम्दानी १ हजार ४ सय पाउण्ड वृद्धि हुनेछ । सरकारले गत अप्रिलदेखि लागू हुनेगरी न्यूनतम ज्याला प्रतिघण्टा १०.४२ पाउण्डबाट बढाएर ११.४४ पाउण्ड पुर्‍याएको थियो ।

यसैगरी १८ देखि २० वर्ष उमेर समूहका श्रमिकहरुको पनि न्यूनतम ज्याला प्रति घण्टा १.४० पाउण्ड वृद्धि गरेको छ, जुन वृद्धि अहिलेसम्मकै उच्च हो ।

यो उमेर समूहका श्रमिकहरुको हाल कायम रहेको प्रति घण्टा ८.६० पाउण्डलाई बढाएर आगामी अप्रिलबाट प्रति घण्टा १० पाउण्ड पुर्‍याइनेछ । यो वृद्धिसंगै उनीहरुको वार्षिक आम्दानी २ हजार ४५ सय पाउण्डले बढ्ने छ ।

एप्रेन्टिसेस् अर्थात तालिमका साथै काम गर्नेहरुका लागि पनि प्रति घण्टा ६. ४० पाउण्डबाट बढाएर प्रति घण्टा ७.५५ पाउण्ड पुर्‍याइएको छ । नयाँ कायम हुन लागेको न्यूनतम ज्याला २१ वर्ष माथिको तुलनामा २१ वर्ष मूनीका उमेर समूहका लागि अत्यधिक वृद्धि गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू