मंगलबार, कार्तिक ६, २०८१
09:21 | १४:०६

मेयर हर्क साम्पाङ बेलायतमा सम्मानित

नेपाली लिङ्क अक्टोबर २०, २०२४

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ ।

२० अक्टोबर आइतबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा संस्थाका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई मेयरलाई स्वागत सम्मान गरिएको हो ।

दुई वर्ष अघि सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलका उमेद्वारहरुलाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ अत्याधिक बहुमतले मेयर पदमा विजयी भएका थिए ।

आफ्नो पदभार सम्हालेदेखि नै जनताका समस्यालाई प्राथमिकतामा राखी नगर विकासमा खरो उत्रन सफल मेयर साम्पाङलाई बीसीसी यूकेले स्वागत सम्मान गरेको हो ।

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना र यसले भक्तजनहरुलाई दिंदै आएको विभिन्न सेवाबारे जानकारी गराउँदै मेयर साम्पाङलाई न्यानो स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले सञ्चालन गर्दै आएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैंया सहयोग पनि प्रदान गरे ।

उक्त स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्ज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्वपूर्ण भेटघाट र सम्मानका लागि बीसीसी यूकेलाई धन्यवाद दिए । उनले बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा समेत जोड दिए ।

बीसीसी यूकेले गत ३ दिनदेखि सञ्चालन गरेको फोवा अभ्यासका भक्तजनहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ तामाङ, लोपेन दावा, लोपेन नोर्बु, लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरुको उपस्थिति थियो ।

त्यस्तै, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ एमबीई, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ, बीसीसी यूके लन्डन शाखा प्रमुख गोपाल तामाङ, पूर्व आमा प्रमुख पुष्प गुरुङ, पूर्व आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरु, सल्लाहकार तथा पदाधिकारीहरुको पनि उत्साहजनक सहभागिता थियो ।


बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए । 

स्मरण रहोस्, बीसीसी यूकेले ३ हप्ता अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतलाई समेत स्वागत सम्मान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू