मंगलबार, कार्तिक ६, २०८१
09:32 | १४:१७

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

नेपाली लिङ्क अक्टोबर २०, २०२४

काठमाडौँ- नेपालले अमेरिकाविरुद्ध टी–२० सिरिज जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेलअगावै जितेको हो ।

जितसँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो ।

रोमाञ्चक खेलको निर्धारित २० ओभरमा दुबै टोलीले एक सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि मात्र तीन रनको लक्ष्य दिएको थियो ।

सोमपाल कामी चम्किएपछि नेपालले सहज लक्ष्य पाएको थियो । सोमपालले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखे ।

चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जितका लागि तीन रनको सहज लक्ष्य पाएको थियो । जसमा कप्तान रोहित पौडेलले दुई र कुशल भुर्तेलले एक रन जोड्दै नेपाललाई जिताए ।

यसअघि जितका लागि एक सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाएका हुन् ।

सईतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाए । बलिङमा नेपालका करण केसीले तीन विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले सात चौका र ६ छक्का हानेका थिए।

यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउए भने गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाए ।

बलिङमा अमेरिकाका नोस्तुश केन्जिके र जसदीप सिंहले दुई दुई विकेट तथा सौरभ नेत्राभाल्करले एक विकेट लिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू