शुक्रबार, कार्तिक २, २०८१
18:00 | २२:४५

पक्राउ परे रवि लामिछाने

नेपाली लिङ्क अक्टोबर १८, २०२४

पक्राउ पर्नुअघि पार्टी कार्यालयबाट संक्षिप्त सम्बोधन गर्दै लामिछाने

काठमाडौं-सहकारी ठगीसम्बन्धि मुद्धा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।

काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार साँझ पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको थियो । लामिछानेकै अनुरोधमा प्रहरीले उनलाई स्थलमार्गबाटै पोखरा लैजाने भएको छ ।

यसअघि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न लामिछानेविरुद्ध शुक्रबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि उनलाई काठमाडौंमा पक्राउ गरिएको हो ।

लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

पक्राउ पर्नुअघि पार्टी कार्यालयबाट संक्षिप्त सम्बोधन गर्दै लामिछानेले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गर्न लागिएको आरोप लगाए । आफू सचेत नागरिकका रुपमा न्यायिक प्रक्रियालाई सघाउन तयार रहेको उनले जनाए ।

न्यायालयप्रति आफ्नो सम्मान र विश्वास अटल रहेको तर सत्तारुढ दलहरुले न्यायालय मिलाएरै भएपनि आफूलाई फसाउने षडयन्त्र गरिरहेको दाबी उनले गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू