शुक्रबार, कार्तिक २, २०८१
18:17 | २३:०२

धरान मेयर हर्क साम्पाङ लन्डनमा, के छन् कार्यक्रम ?

नेपाली लिङ्क अक्टोबर १८, २०२४

लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ  बेलायत आइपुगेका छन् ।

धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराकासाथ दोहा हुंदै बिहीबार राती १० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल ४ उत्रिएका हुन् ।

धरानको चिन्डेडाँडामा सुम्निमा र पारुहाङ मूर्ति स्थापनाका लागि आर्थिक संकलनसहित अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ बेलायत आएका हुन् ।

विमानस्थलमा उनलाई धरान समाज यूके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति यूके, किरात राई यायोक्खा यूके, एनआरएनए यूके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम यूके, किरात साम्पाङ राई जुम्लेखा यूके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

धरान समाज यूके अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राईलगायत व्यक्तिहरुले खादा तथा पुष्पगुच्छाद्वारा स्वागत सम्मान गरेका थिए ।

‘उद्देश्यसहितको एउटा अनौठो यात्रा’ तय गरेर बेलायत आएका मेयर साम्पाङ करिब दुईसाता बेलायतमा रहने बताइएको छ । उनको पहिलो कार्यक्रम १९ अक्टोबर शनिबार ग्रयाण्ड बर्सटिन होटल फोकस्टनमा राखिएको छ ।

साम्पाङले बेलायतमा रहंदा मेडवे काउन्सिल, फोक्सटन टाउन काउन्सिल, केन्ट काउन्टी काउन्सिल आदिमा स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्ने कार्यक्रम तय छ ।

यसैगरी आसफोर्डका प्रि एण्ड प्राइमरी स्कुल भ्रमण, युनिभर्सिटी अफ केन्ट, टुआरजिआर भ्रमण, किरात राई यायोख्या भवन र वेष्ट मिनिष्टरस्थित संसद भवन अवलोकन लगायत कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।

मेयर र राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा ‘गेष्ट अफ अनर’ का रुपमा पनि सहभागी हुने आयोजकले जनाएका छन् ।

विमानस्थलमा बोल्दै साम्पाङले आफूलाई निमण्त्रणा गर्ने र स्वागतका लागि उपस्थित सबैलाई धन्यबाद दिए । मेयर साम्पाङ नोभेम्बर २ तारिख नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू