शुक्रबार, कार्तिक २, २०८१
20:20 | ०१:०५

डा. सङ्गीता ‘स्वेच्छा’ इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिसको अध्यक्ष नियुक्त

नेपाली लिङ्क अक्टोबर १७, २०२४


लन्डन- साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेशनल एशोसिएशन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) को अध्यक्ष नियुक्त भएकी छिन् ।

युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको IAACP एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ ।

आफ्नो नयाँ भूमिकामा डा. श्रेष्ठले IAACP को मिशनलाई अघि बढाउन कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य लिएकी छिन् ।

नियुक्तिबारे प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले भने, “डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ र उहाँको नेतृत्वले आउने वर्षमा पुर्‍याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।”


डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उनको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।

‘यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु”- डा. श्रेष्ठले भनिन् – “म फेडरेशनप्रति यो अवसरका लागि आभारी छु । IAACP र UPF का प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।”

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । IAACP जस्ता नेटवर्क र पहलहरू मार्फत UPF विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू