बुधबार, असोज ३०, २०८१
17:55 | २२:४०

बेलायतको मुद्रास्फीतिमा लक्ष्यभन्दा पनि उच्च सुधार

नेपाली लिङ्क अक्टोबर १६, २०२४

फाइल तस्विर: बैंक अफ इंग्ल्यान्ड

लन्डन—बेलायतको मुद्रास्फीतिमा लक्ष्य राखिएभन्दा पनि झन् उच्च दरमा सुधार भएको छ ।

सेप्टेम्बर महिनासम्मको एक वर्षमा मुद्रास्फीति घटेर १ दशमलव ७ प्रतिशतमा पुगेको छ । उक्त अवधिका लागि बैंक अफ इंग्ल्यान्डले २ प्रतिशतसम्मको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेपनि त्यसभन्दा झन् न्यून दर हासिल भएको हो ।

बेलायतमा मुद्रास्फीति अनपेक्षित ढंगले घट्नुको पछाडि हवाई भाडा र पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटलाई प्रमुख कारण ठानिएको छ । ठीक एक वर्षअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले घटेको छ ।

मुद्रास्फीतिको पछिल्लो अवस्था विगत साढे तीन वर्षकै सबैभन्दा न्यून रहेको बीबीसीले जनाएको छ ।

मुद्रास्फीति घटेसंगै यसले बेलायती अर्थतन्त्रका अन्य पक्षमा तत्काल असर गर्नेछ । यसअघि अपेक्षा गरिएअनुसार आउँदो नोभेम्बर महिनामा बैंक अफ इंग्ल्यान्डको आधारभूत ब्याजदर घट्ने सम्भावनालाई मुद्रास्फीतिको पछिल्लो गिरावटले झन् बलियो बनाएको छ ।

विज्ञहरुले नोभेम्बरमा मात्र नभइ त्यसपछि डिसेम्बरमा समेत ब्याजदर पुनः घट्न सक्ने सम्भावना बढेको आंकलन गरेका छन्।

बैंक अफ इंग्ल्यान्डको आधार ब्याजदर हाल ५ प्रतिशत छ । जुन दरलाई नोभेम्बर महिनामा बस्ने बैंकको बैठकले ४ दशमलव ७५ प्रतिशतमा झार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू