बुधबार, असोज ३०, २०८१
08:01 | १२:४६

बेलायतमा ‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई स्वर्ण पदक

नेपाली लिङ्क अक्टोबर १३, २०२४


लन्डन —बेलायतमा आयोजित क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी रहेको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार बेलायतको वेल्स, ब्रेकनमा ४ देखि १३ अक्टोबरसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास २०२४’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ, ‘४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।’

नेपाली सेनाले यो अभ्यासमा सन् २०१७ र २०१९ मा स्वर्ण पदक जितेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपककुमार बानियाँ र लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहको सम्मानित अतिथिको रुपमा विशेष उपस्थिति थियो ।

प्रमुख सेनानी निखिल चन्दको नेतृत्वमा नेपाली सेनाको १० सदस्यीय टोली बेलायत आएको हो । यो अभ्यासमा पदक दिलाउन पट्रोल कमान्डर क्याप्टेन जितेन्द्र कार्की र प्रमुख सेनानी चन्दको उल्लेख्य भूमिका थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू