बुधबार, असोज ३०, २०८१
17:23 | २२:०८

बाढी पहिरो पीडितलाई मन खोलेर सहयोग गर्न हेल्प नेपाल नेटवर्कको आग्रह

नेपाली लिङ्क अक्टोबर ९, २०२४

लन्डन – शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क यूकेले नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग गर्न बेलायत लगायत संसारभर रहेका नेपाली तथा नेपालका मित्रहरुलाई आह्वान गरेको छ।

“हामीलाई नेपालमा बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, औषधि, टेन्ट, जस्तापाता, कपडा, पानी शुद्ध गर्ने सामग्री, ब्ल्यांकेट लगायतका सामग्रीको माग आइरहेको छ। विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी बेलायतमा रहनु भएका प्रवासी नेपालीहरु, नेपाली संघसंस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं,” हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले भने। 

उनले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाए।

हेल्प नेपाल नेटवर्क यूके च्याप्टरले यो लिंकमा गएर सहयोग गर्न अपिल गरेको छ।

“सन् २०१५ को महाभूकम्प वा कोभिड तथा गत वर्ष मात्रै जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयंसेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यसपटक पनि बाढी तथा पहिरो पीडितहरुलाई अत्यावश्यक मानवीय सेवा पुर्‍याउन सबै मित्रहरुबाट सक्दो सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं,”  हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने।  उनले सहयोग संकलन तथा वितरण सम्पूर्ण रुपमा पारदर्शी हुने पनि जनाए।


गत सेप्टेम्बर अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २४०  जना भन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन्। त्यस्तै पूर्वाधार, बालीनाली, निजी घर जग्गासमेत अरबौं रुपिया बराबरको क्षति भएको छ। 

हेल्प नेपाल नेटवर्क नेपाल शाखाले सिन्धुपाल्चोक ,काभ्रे र दोलखाका विभिन्न स्थानमा जस्तापाता, त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गरिरहेको छ । जस अनुसार नेटवर्कले काभ्रेको पनौती नगरपालिकास्थित वडा नं १२ का १०० परिवारलाई खाद्यान्न सहायता उपलब्ध गराएको छ भने सिन्धुपाल्चोक जिल्लाका इन्द्रावती तथा बेल्फी गाउँपालिकाका २२  बाढी पीडित परिवारहरुका लागि  खाद्यान्न, टर्पोलिन लगायत सामग्रीहरु वितरण गरेको छ । 

यसै गरी ललितपुरको कोन्ज्योसोम गाउंपालिकाका विभिन्न वडाका १०० परिवारलाई भांडाकुंडा र खाद्यान्न वितरण गर्ने कार्य वडा नं ४ नल्लुबाट शुरु गरिएको छ। 

बाढी र पहिरो पीडितहरुलाई मन खोलेर मानवीय सहयोग गर्न  पनि हेल्प नेपाल नेटवर्कले आग्रह गरेको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू