शुक्रबार, असोज १८, २०८१
05:58 | १०:४३

महोदय, कसरी दिउँ म तपाईंलाई शुभकामना ?

नेपाली लिङ्क अक्टोबर ३, २०२४


भगीरथ योगी

बचाउन सकेनौं हामीले आफ्नो योग्यता प्रदर्शन गर्ने

र, देशको नाम राख्ने महत्वाकांक्षा बोकेर

आफ्नी आमासंग काठमाडौँतर्फ लागेका दीपेश र दीपिकालाई

न त बचाउन सक्यौं हामीले रोजगारीका लागि कोरिया जान लागेका नवविवाहित प्रकाश, अनु र बहिनी सिर्जनालाई

पुरिए दर्जनौं सपना झ्याप्ले खोला पहिरोमा

देशभरि अविराम वर्षा, बाढी र पहिरोले मुलुक क्षतविक्षत भै रहेको बेला

फेरि आइपुगेको छ यो वर्षको दशैं

महोदय, कसरी दिउँ म तपाईंलाई शुभकामना ?

भारी वर्षा र त्यसले ल्याउने विपद्को चेतावनीबीच हामीले जारी राख्यौं आफ्नै पारा

न त पूर्व तयारी, न त कुनै गम्भीरता

जब बाढीले बगाउन थाल्यो एक युवा र एक शिशुलाई

आफ्नै ज्यानको जोखिम मोलेर बागमतीको भेलमा हेलिए चनिकलाल र बचाए मानवतालाई

तर देशभरि पुग्न सकेनन् चनिकलालहरु

देश भरि पुग्न सकेनन् उद्धारकर्ताहरु

अदूरदर्शी र गैरजिम्मेवार नेतृत्व भएपछि बाढीले बगाउने त गरिबलाई नै हो

पहिरोले पुर्ने त सर्वसाधारणलाई नै हो

खै यो कस्तो विकास गर्‍यौं हामीले

हजारौं वर्षसम्म कायम प्रकृतिसंगको तादात्म्य भत्काइ दियौं

आफ्नो क्षणिक स्वार्थ र सुविधाका लागि पर्यावरणलाई विषाक्त पार्‍यौं

फ्याँकेर वायु मण्डलमा कार्बन डाइअक्साइडको मुश्लो

हामीले आफ्नै विनाश निम्त्याई रह्यौं, आफ्नै लागि खाल्डो खनी रह्यौं

आज हिमाली क्षेत्रका हिमतालदेखि, आर्कटिकका ‘पोलार आइस क्याप’ सम्म

अमेजनको घना जंगलदेखि बंगलादेशको फेन वस्तीसम्म

हाम्रै लोभ र मुर्खताले क्षतविक्षत भएको छ यो प्यारो पृथ्वी

क्षतविक्षत भएको छ मानवता

तर पनि ‘अन्तिम भोज’ को तयारी गर्दै हामी गर्दैछौं युद्ध युक्रेन र इजरेलको सीमा नाघेर 

घरवारविहीन प्यालेस्टिनीहरुको चित्कारलाई अनदेखा गर्दै

लगाउँदैछौं हामी विश्व शान्तिको नारा

बगाउँदैछौं हामी गोहीका आँशु

बन्द गर अब यो विध्वंश

बन्द गर अब यो सर्वनाश

‘विनास काले विपरित बुद्धि’

कहिले सुध्रने हामी ?

कहिले हेर्ने आफै भित्र र खोज्ने त्यो असीम शान्ति, प्रेम र स्नेह ?

‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’ को मन्त्र लिएर

अब अघि बढौं यो संसारलाई सबैको लागि बस्न योग्य बनाउन

चराचुरुँगी, जनावर, रंगचंगी फलफूल, किरा फट्यांग्रा

यो संसार जति हाम्रो हो, त्यति तिनको पनि हो

के बाँच्न सिकौंला हामी सहअस्तित्वमा ?

के नाच्न सिकौंला  हामी प्रेम र सद्भावमा ?

चारैतिर हुर्हुर्ती आगो दन्केका बेला कसरी गाउँ म शान्तिको गीत  ?

महोदय, कसरी दिउँ म तपाईंलाई शुभकामना ?

(घटस्थापना, ३ अक्टोबर २०२४)

लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू