शनिबार, पुष ६, २०८१
17:15 | २३:००

नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने कार्की अहिले यूकेको सफल व्यवसायी (भिडियो)

नेपाली लिङ्क अक्टोबर १, २०२४

लन्डन । एक जमाना आफ्नो देशका लागि अन्तर्राष्ट्रिय पदक दिलाउन सफल सुरज कार्की यतिखेर बेलायतमा भेटिने थिएनन् यदि नेपालमै बस्ने वातावरण भइदिएको भए । खेलबाट बैकुण्ठ मानन्धर, दीपेन्द्र विष्ट जस्ता भेट्रानहरुलाई समेत बांच्न गार्‍हो भइरहेको अवस्थामा उनी नेपालमै रहने वातावरण अपेक्षा त कल्पनामात्र थियो ।

उज्ज्वल भविष्य खोज्दै सन् १९९९ मा बेलायत भासिए उनी । अहिले कार्की एक सफल व्यवसायी बनेका छन् तर खेल क्षेत्रमा लागेर देशका लागि केही गर्ने हुटहुटी अधुरै रह्यो ।

‘खेलबाट जिवीकोपार्जन गर्न नसकिने भएपछि उच्च शिक्षा लिन बेलायत आएं’, इंग्ल्याण्डको बकिङ्हमसायरमा पर्ने हाइवेकम्बस्थित आफ्नै ‘डल्फिन आइ रेष्टुरेन्ट पब एण्ड बार’ मा भेटिंदा कार्कीले विगत स्मरण गरे, ‘अकाउन्टेन्सी पढ्न आएको थिएं, बस्दा बस्दै बेलायतमा अढाइ दशक बितेछ । मन मष्तिस्कमा मातृभूमि सजाएर परदेशमा कर्म गरिरहेको छु ।’

डल्फिन आइ रेष्टुरेन्ट पब एण्ड बार शुरु गरेको झण्डै डेढ वर्ष भयो । डल्फिन पहिला एभरेष्ट द डल्फिन नाममा थियो तर यो त्यति चलेको थिएन । ८० हजार पाउण्ड खर्चेर लिएको उक्त पबमा उनले झण्डै पौने ३ लाख पाउण्ड (करिब ६  करोड रुपैयां) खर्च गरे । भवन रिफर्बिस्, गार्डेन, बार बनाउदा मनग्गे खर्च भएको थियो । लोकेशन राम्रो भएर त्यति धेरै लगानी गरेका थिए उनले ।

त्यो एरियामै धेरै पब बन्द भइरहेका थिए । कार्कीकै भनाइमा बेलायतमा अहिले मासिक ५० वटा पब बन्द भइरहेका बेला उनले व्यवसायिक जोखिम मोलेका थिए ।

‘स्थानीय कम्युनिटीले राम्रो रुचाएपछि व्यवसाय सोचेभन्दा राम्रो चल्यो’, उनी प्रसन्न छन् । उनको पब एण्ड रेष्टुरेन्टमा नेपाली, इण्डियन, कन्टिनेन्टल र अंग्रेजी खाना पाइन्छ । नेपालबाट झिकाइएका व्यवसायिक तीज जना सेफले बनाउने खानामा ग्राहक लट्ठिएका छन् ।

एक एकड जग्गामा फैलिएको उक्त पबमा पार्टी गर्न परे २०० जनासम्म अट्ने क्षमता छ । ७० सिटको फाइन डाइन, बार एरियामा ७० जना र गार्डेनमा १५० जना मानिस अट्छन् । पुल समेत भएको बेग्लै रुममा ३० जना अट्ने क्षमता छ । कार पार्क ४० वटा अट्छ । अहिले त्यहां १४ जनाले रोजगारी पाइरहेका छन् ।

अहिले ‘फूल टाइम’ यही व्यवसायमा लागेर स्थानीय कम्युनिटीका लागि समर्पित भएको उनले बताए ।

कलेज पढाइसंगै पार्ट टाइम काम गर्थे उनी । पब चेन वेदर स्पोनमा एक वर्ष काम गरेपछि फ्लोर म्यानेजर भए उनी । जम्माजम्मी २ वर्ष काम गरेको अनुभवले उनी हस्पिटालिटीमा आवद्ध भएका थिए।

सुरजको पहिला इन्डियन टेक वे पनि थियो सरे चर्सीमा । तर उक्त व्यवसायबाट ५० हजार पाउण्ड जति घाटा भयो । यद्यपि उनका बुबाले एउटा व्यवसाय असफल हुंदैमा हरेस खानु हुन्न भनेर प्रेरणा दिएपछि सन् २०१० बाट सरे चर्सीमै शुरु गरे ज्याक्स स्प्यारो पब । उक्त पब १३ वर्ष चलाएपछि सुरजले डल्फिन आइ शुरु गरेका थिए ।

थप व्यवसाय विस्तार गर्ने तयारी गरिरहेका कार्की पब चलाउन सजिलो भने नभएको बताउंछन् । ‘पब चलाउन कष्टमरको भावना बुझ्न सक्नुपर्छ, खाना हाइजेनिक र स्वादिष्ट चाहियो’, कार्कीले भने, ‘तर नेपाली भनेपछि फरक पर्ने रहेछ । अहिले हाम्रोमा नेपाली कम्युनिटी भन्दा बढ्ता ब्रिटिश आउंछन् ।’

कहिलेकाहीं पबका आक्रामक ग्राहकलाई कन्ट्रोल गर्न पूर्व खेलाडी भएर पनि आत्मबल बढेको उनको अनुभव छ ।

बुबा रेबेन्द्रबहादुर कार्की र आमा यमुना देवीको कान्छो छोराका रुपमा चितवनमा जन्मिएर जावलाखेल बाग्डोल बस्दै आएका उनको पुरख्यौली घर भने सूर्य बिनायक भक्तपुर हो । बुबा नापीको कर्मचारी । हजुरबुबा नेपाल आर्मीको क्याप्टेन, ठूलो बुबा पनि आर्मी तर सुरज खेलप्रति समर्पित भए ।

सानै उमेरदेखि उनमा खेलप्रति रुचि थियो । वि.सं. २०४५ सालतिर दाई (तेक्वान्दोका थर्ड डान) राजेश कार्कीको प्रेरणाबाट उनी क्योकुसिन करांतेतिर लागे । त्यतिखेर भर्खर वहुदल आएको थियो । धिरेन्द्र सरकारको पालामा जगत गौचनको रजगज थियो, त्यही बेला उनको खेल यात्रा शुरु भएको हो । फिल्म हेरेर घरमै तालिम पनि लिन्थे उनी । उनले धेरै जिल्ला तह, राष्ट्रिय र एसियाली प्रतियोगिताहरुमा भाग लिए ।

त्यतिखेर बेलायत आइसकेका थिए कार्की । इटालीमा सन् २००० मा वल्र्ड युनाइटेड किक बक्सिङ च्याम्पियनसीप भएको थियो । ४५ देशका खेलाडी प्रतिष्पर्धी थिए । नेपालबाट खेलाडी र अफिसियल गरि करिब १० जना सहभागी थिए ।

बेलायत आइसकेपनि नेपालको प्रतिनिधित्व गर्दै किक बक्सिङमा ६० केजी तौल समूहमा भिडेका कार्कीले नेपाललाई कास्य पदक दिलाए । यो पदकले उनको चर्चा त बढ्यो नै, नेपालको समेत अन्तर्राष्ट्रिय जगतमा इज्जत चुलियो ।

नेपालका लागि कसरी इज्जत राखौं भन्ने थियो मनमा । तर, पशुपतिनाथको भरोसा भने जस्तो न पर्याप्त तालिम न सुविधा । तीन राउण्ड ड्र भएपछि स्टामिना गइसकेको थियो । तर हरेस खाएनन् । ‘म गरिव राष्ट्रबाट आएको खेलाडी जित्नै पर्छ भन्ने दृढ संकल्प लिएर आखिर कास्य पदक जितें’, उनी विगत सम्झन्छन् ।


त्यही खेलमा पदक जितेपछि राजा वीरेन्द्रबाट उनले गोर्खा दक्षिणबाहु तेश्रो पाए । त्यतिखेर सुरजका साथ अभिनेत्री मनिषा कोइराला, गायक उदित नारायण झा र नायक राजेश हमालले पनि सोही पदक पाएका थिए ।

६० केजी तौल समूहबाट राष्ट्रिय प्रतियोगिताहरु खेलेका कार्की एसियन गेम खेल्न भारत पनि गए तर त्यो ‘ओपन वेट’ भएकाले अरु प्रतिष्पर्धी सामु सफल हुन सकेनन् ।

नेपाल छंदा वर्ल्ड युनाइटेड नेपलिज क्यूकोसिन कराते एसोसिएनको उपाध्यक्ष पनि भए उनी । त्यस वखत नेपालका लागि धेरै सहयोग गरेको स्मरण गर्छन् सुरज ।

तत्काल मातृभूमि नेपाल जान नसकेपनि खेलाडी र खेलकूद क्षेत्रको विकासमा सधैं तल्लीन रहने प्रतिवद्धता कार्कीले गरे । ‘हामीले पहिला पनि सहयोग गरेका हौं र आवश्यक पर्दा भविष्यमा पनि गर्छौं’, उनको प्रतिवद्धता छ ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) बेलायतका उपाध्यक्ष कार्कीलाई खेल क्षेत्रको विकासका लागि पूर्व खेलाडी दाई राजेश कार्कीको पनि उत्तिकै साथ छ ।

सन् २००६ मा बिहे गरेका कार्कीका दुई बच्चा र आमा साथमा छन्, पिताको भने सन् २०१३ मा स्वर्गारोहण भयो ।

कार्कीसंग नेपालीलिंकको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू