मंगलबार, असोज १५, २०८१
21:21 | ०२:०६

उपत्यका छोड्नेको लर्को, दुई दिनमा ३० हजार अग्रिम टिकट बुकिङ

रासस सेप्टेम्बर ३०, २०२४

काठमाडौँ । नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् ।

नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायत छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दशैं मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासङ्घ लागिपरेको बताए ।

वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् ।

दशैंमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू