बुधबार, असोज ९, २०८१
22:01 | ०२:४६

गोर्खा र वंशजको नागरिकता मुद्दा ‘लिड’ गर्ने राप्रपा केन्द्रिय नेताहरुको अठोट

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२४

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाले मात्र देश परिवर्तन हुने बताएका छन् ।

प्रवासी नेपाली एकता समाज (पानस) यूकेले आइतबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं जलश्रोत मन्त्री समेत भइसकेका लिङ्देनले अहिलेको व्यवस्था अनुसार प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको जस्तोमात्र भएको बताए ।

‘देश एउटा सिंगो निर्वाचन क्षेत्र हुनुपर्छ अब । संसद पूर्ण समानुपातिक समावेशी हुनुपर्छ’, उनले भने, ‘यो तीन तहको सरकार देशले धान्न सक्दैन । प्रदेश खारेज गर्नुपर्छ। राष्ट्रिय सभा पनि खारेज गर्नुपर्छ । राष्ट्रिय सभा हारेकालाई तह लगाउने ठाउं भएको छ ।’

आफ्नो पार्टी राजनीतिक मान्यता स्थापित गर्न हिंडेको उल्लेख गर्दै उनले नेपालको इतिहास, परम्परा र पहिचान कायम राख्न अभिभावकीय संस्थाका रुपमा राजसंस्था आउनुपर्छ र यो एकताको प्रतीक हो भनेको प्रष्टयाए ।

‘हिन्दू राष्ट्र भनेको कुनै जात विशेषले मान्ने धर्मको विषय होइन, पहिचानसंग सम्बन्धित विषय र यो एकता र समृद्धिको आधार हो’, उनले भने, ‘देशमा शिक्षा, स्वास्थ्य पूर्ण निशुल्क हुनुपर्छ । हरेक परिवारले एक रोजगारी पाउनुपर्छ । त्यसका लागि दुरदृष्टि हुनुपर्छ नेतृत्वमा, हामी परिवर्तन गरेर देखाउंछौं ।’

उनले आफ्नै जीवनकालमै परिवर्तन हेर्न मत परिवर्तन आवश्यक रहेको बताए । ‘पुराना नेताहरुलाई जिताएर देश बन्छ ? देश बर्बाद बनाउने काम उनीहरुलाई जिताउने र पैसा पठाउनेले पनि गरेका छन्’, उनको धारणा थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपा जनताले विश्वास गरेको एकमात्र पार्टी बनेको दावी गर्दै लिङ्देनले अगाडि भने, ‘देश बनाउने संकल्प बोकेर हिंडेको छु, भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह मानेर काम गर्ने छु ।’

उनले संसार बन्ने तर नेपालमात्र नबन्ने कारण के छ भन्ने प्रश्न गर्दै यसको प्रमुख जड नेताहरु नै रहेको बताए । ‘उनीहरुबाट देशलाई मुक्त गरे ५ वर्षमा देश बनेको देख्न पाइन्छ र १० वर्षमा भोग्न पाइन्छ । हामीलाई सहयोग गर्नुहोस्’, उनले भने ।

अहिले पार्टीले डायष्पोरासंग साक्षात्कार अभियानलाई प्राथमिकता दिएको बताउंदै अध्यक्ष लिङ्देनले थपे, ‘अब नेपाल भूगोलको नेपालमात्र रहेन, मेची महाकालीबाहेक संसारभर छरिएर रहेका नेपालीको भावनाको नेपाल पनि छ । भावनाको नेपाललाई नजोडेसम्म नेपालको विकास हुन्न भनेर हामी डायष्पोरामा आएका छौं ।’

अध्यक्ष लिङ्देनले बेलायत जस्तो देशले आफ्नो देशका लागि लडेका मानिसलाई विभेदपूर्ण तरिकाले व्यवहार गर्न नसुहाउने बताउंदै गोर्खा मुद्दालाई पार्टीले सशक्त रुपमा उठाउने र यसमा कुनै हिनतावोध र द्विविधा नरहेको प्रष्टयाए । ‘गोर्खाहरु हाम्रो गौरव र इज्जत हो । बेलायत सरकारसंग हामी पनि कुरा गर्छौं’, उनको प्रतिवद्धता थियो ।

नेपाललाई संसारभरका नेपालीको केन्द्र बनाउने आफ्नो उद्देश्य सुनाउंदै उनले वंशजको नागरिकता मुद्दा आफ्नो पार्टीले सशक्त रुपमा उठाउने जनाए । नेपालमा निष्ठापूर्वक काम गरे ४०-५० हजार रुपैयां तलबका लागि बाहिरिनु नपर्ने र यसमा राप्रपाले काम गर्ने उनको दावी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘एक पटकको नेपाली सधैंको नेपाली’ हुनुपर्छ भन्ने पार्टीको मान्यता रहेको र त्यसको ग्यारेन्टी राप्रपाले गर्ने बताए ।

विदेशका समस्त नेपालीको चाहना आफ्नो देश फर्कौं भन्ने रहेकाले उनीहरुको साथ र हात साथमा राखेर नेपाललाई विकासको बाटोमा लैजान राप्रपा लागिरहेको शाहीले बताए । गैर आवासीय नेपाली नागरिकता कागजको खोस्टो भएको जिकिर गर्दै उनले वंशजको नेपाली नागरिकता राप्रपाको मुल मुद्दा रहेको उल्लेख गरे ।

मुलुकको अर्थव्यवस्था र स्थिति झन् खंस्कदै गएको र देश परनिर्भर बन्दै गएको उनको टिप्पणी थियो । ‘अहिलेको व्यवस्थाले महिनामा दशौं लाख युवा विदेश पलायन भइरहेका छन्’, उनले भने, ‘दलाल पूंजीपतिहरुको हातमा देशको अर्थतन्त्र रहेकाले देश कहिल्यै विकास भएन ।’

राजासहित जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने व्यवस्था नभएसम्म देश समृद्ध नहुने उनको जिकिर थियो । ‘व्यवस्था सुधार नगरेसम्म अवस्था सुधार हुन्न’, उनले भने ।


पानसका अध्यक्ष रोशन सापकोटाले अहिलेको व्यवस्थाले देशलाई झन् विकराल बनाउंदै लगेको जनाउंदै वंशजको नेपाली नागरिकता निरन्तरता आफ्नो पार्टीको मुलमन्त्र रहेको बताए । सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने समस्त कार्यसमिति र सहभागीप्रति आभार व्यक्त गर्दै प्रवासका नेपालीको इच्छा सवल र समृद्ध नेपाल रहेको बताए ।

पानसका महासचिव रमेश शाही र सल्लाहकार एस के श्रेष्ठले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य हिक्मतजंग कार्की, राप्रपा प्रवास विभाग प्रमुख एवं केन्द्रिय सदस्य आनन्द अधिकारी, पानस यूके सल्लाहकार क्याप्टेन रि. वालकृष्ण गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा श्रीमति नन्दकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

दोश्रो सत्रमा वंशजको नेपाली नागरिकता र गोर्खा मुद्दाबारे अन्तरक्रिया भएको थियो । सो सत्रमा भूतपूर्व गोर्खा अभियन्ताहरुको वाहुल्यता थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू