बुधबार, असोज ९, २०८१
00:19 | ०५:०४

न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओली महत्त्वपूर्ण भेटघाटमा

रासस सेप्टेम्बर २१, २०२४

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।

शनिबारै दिउँसो स्थानीय समयानुसार ५ः१५ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।

यस्तै, स्थानीय समयानुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना गरिने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई उनले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि, राष्ट्रसंघका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नेछिन् ।

शनिबारै साँझ राष्ट्रसंघका निम्ति नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ ।

क्यानाडामा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसंघका निम्ति स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत अधिकारीले राष्ट्रसंघका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयानुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क आइपुगेका हुन् । उनी बसेको होटेल ग्रान्ड हायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायत व्यक्तिले भेट गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू