शनिबार, असोज ५, २०८१
03:10 | ०७:५५

बेलायतका दर्शकको मन जितेर फर्किए गायक श्रेष्ठ

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२४

लन्डन–

‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने’

नेपाली सांगीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठ बिहीबार सांझ इंग्ल्याण्डको हाइवेकम्बमा आयोजित एउटा ‘डिसेन्ट’ लाइभ कन्सर्टमा शुरुमा यही गीत गाएर प्रस्तुत भए ।

गायक श्रेष्ठले माथिको गीत रेकर्ड गराएर वि.
सं. २०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।

यूके कन्सर्टमा उनले राजा महेन्द्रको हुकुमबाट रेडियो नेपालमा गाउने अवसर पाएको स्मरण गर्दै ५५ वर्षदेखि गायनमा सक्रिय रहंदाका विभिन्न किस्सा पनि सुनाए ।

नेपाल फर्कनु एकदिन अघि श्रेष्ठको एकल सांझ भएको थियो हाइवे कम्बस्थित ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ मा ।

‘म त दुरदेखि आएं…’ हो, करिब ५५०० माइल टाढाबाट आएका पाका गायकले यो गीत गाउंदा बेलायतका संगीतप्रेमी नेपालीले पनि निकै सम्मान अर्पण गरे ।

लाइभ म्यूजिकका साथ भएको उक्त कन्सर्टमा संख्यात्मक रुपमा थोरै तर क्वालिटीका दर्शक थिए । गायक श्रेष्ठले कार्यक्रममै यहां जस्तो शालिन र एकाग्र दर्शक नपाएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा गायक श्रेष्ठले ‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘मेरो आंखामा’, ‘हुं यात्री एउटा’, ‘एक्लै तिमी नआउ म मातिएको बेला’ जस्ता दर्जनौं सदावहार गीत समेत गाएर बेलायतका दर्शकको मन एकपटक फेरि जिते ।

वरिष्ठ गायक दीप श्रेष्ठ

गायक श्रेष्ठले स्थानीय गायिका तयाहाङ्मा राईसंग ड्वेट पनि गाएका थिए भने लन्डनवासी गायक प्रमोद शर्माले समेत केही गीत सुनाए ।

आयोजकमध्ये एक सिद्धार्थविक्रम क्षेत्रीले छोटो समय बाबजुद कार्यक्रममा सहभागी हुने सबैप्रति आभार व्यक्त गर्दै स्वागत गरेका थिए । विगतमा समेत कन्सर्ट गरेका क्षेत्रीले गायक श्रेष्ठको अनुरोधमा लास्ट मिनेटमा कन्सर्ट तय हुंदा पनि उल्लेख्य दर्शक सहभागिता भएकोप्रति खुशी व्यक्त गरे ।

उनले भेन्यू र खाना उपलव्ध गराउने डल्फिन आई पब एण्ड रेष्टुरेन्टका सञ्चालक सुरज कार्की, डिजे व्यवस्थापन गर्ने प्रमोद शर्मा र सनमकुमार बैरागसहित लाइभ म्यूजिक प्रस्तुत गर्ने स्थानीय वाद्यवादकहरुप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा अर्का आयोजक स्लाउ नेपलिज कम्युनिटीका संस्थापक केशर पाण्डेले गायक श्रेष्ठलाई खादाले स्वागत गरेपछि कन्सर्ट शुरु भएको थियो ।

गायक श्रेष्ठ शुक्रबारै नेपाल फर्किएका छन् ।

गायक श्रेष्ठसंग आयोजक सिद्धार्थविक्रम क्षेत्री

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू