सोमबार, पुष ८, २०८१
17:16 | २३:०१

कोइला उपयोगको तत्काल अन्त्य माग गर्दै वातावरणवादीहरू माइतीघरमा

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२४

काठमाडौं । उर्जा श्रोतको रुपमा कोइलाको प्रयोग जति सक्दो चांडो अन्त्य हुनुपर्ने माग गर्दै नेपाली वातावरणवादीहरू माइतीघर मण्डलामा भेला भएर त्यसको विरोध गरेका छन् । यो प्रदर्शन विश्वव्यापी Global Day of Action for Climate Finance and a Fossil-Fuel Future अभियानको हिस्सा थियो, जसमा ९ देशका ७२ शहरमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

प्रदर्शनकारीहरूले कोइला उपयोगको तत्काल समाप्ति, नवीकरणीय ऊर्जामा रूपान्तरण र प्रभावित श्रमिकहरूको उचित व्यवस्थापनको माग गरे।

नेपाली वातावरणवादीहरूका अनुसार नेपालमा औद्योगिक खपतको ४८% हिस्सा कोइलाबाट पूरा हुन्छ, जसले वातावरणलाई नोक्सान पुरयाइरहेको छ। उनीहरूले कोइलाको सट्टा नवीकरणीय ऊर्जामा परिवर्तन गर्न र कारखानाहरूका श्रमिकहरूको लागि रोजगारीको उचित प्रबन्ध गर्न माग गरेका छन्।

साथै, विश्वभर नयाँ कोइला परियोजनाहरू बढिरहेको र यसले वातावरणमा नकारात्मक असर गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकार र कम्पनीहरूलाई तत्काल कोइलाको विस्तार रोक्न आह्वान गरेका छन्।

धनी देशहरूले कोइला परियोजनाहरूलाई अझै पनि वित्तीय समर्थन गरिरहेको आलोचना पनि भएको छ। वातावरणविद विप्लव स्वर्णकारले पश्चिमा धनी मुलुकहरुमा कोइलाको खपत घटेको भए पनि, अमेरिका, क्यानडा र बेलायतजस्ता देशले एसियामा नयाँ कोइला पूर्वाधारको विकासमा आर्थिक सहयोग गरिरहेको बताए। यो धनी देशहरूको दोहोरो नीति भएको वातावरणवादीहरूको आरोप छ।

विश्वभरका नेताहरूले यही सेप्टेम्बर २२–२३ मा संयुक्त राष्ट्र संघको “समिट फर द फ्यूचर २०२४” सम्मेलनमा कोइला परियोजनाहरू समाप्त गर्ने सहमति गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, जलवायु सम्मेलनमा पनि कोइलाबाट स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने विषयमा छलफल हुने छ।

यसैबीच, विश्वका ठूला बैंकहरूले कोइला उद्योगलाई वित्तीय सहयोग जारी राखेका छन्। सन् २०२१ देखि २०२३ सम्म बैंकहरूले कोइला परियोजनाहरूमा ४७० अर्ब अमेरिकी डलरको ऋण र लगानी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू