बिहीबार, असोज ३, २०८१
17:21 | २२:०६

बेलायतसहित १७ देशका राजदूतको अनुमोदन आइतबार

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२४

काठमाडौँ । बेलायतसहित १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदन निर्णय आइतबार हुने भएको छ ।

आज बसेको बैठकमा बेलायतसहित चार देशका राजदूतहरुले आफ्नो कार्ययोजना पेस गरेका थिए। आजको बैठकमा कार्ययोजना पेस गर्नेहरुमा बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी, स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई थिए ।

अन्य १३ देशका राजदूतले यसघि नै आफ्नो कार्ययोजना पेश गरिसकेका थिए ।

प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न लागेको हो ।

सबै १७ जना प्रस्तावित राजदूतहरूको कार्ययोजना पेस भएको र अब आइतबार बस्ने बैठकले अनुमोदनबारे निर्णय लिने समितिले जनाएको छ ।

सरकारले गत साउन १४ गते डा. शंकर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), प्रा. धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसैगरी सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा. शैल रुपाखेती (जर्मनी), जंगबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेल (पोर्चुगल) लाई सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू