बिहीबार, असोज ३, २०८१
17:22 | २२:०७

स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टलाई पहिलो वर्षमै पाँच अवार्ड

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२४

लन्डन- स्कटल्यान्डमा नेपाली व्यवसायीले सञ्चालन गरेको एक रेष्टुरेन्टले स्थापनाको पहिलो वर्षमै प्रतिष्ठित करी अवार्डहरु जित्न सफल भएको छ ।

स्कटल्यान्डमा रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा सफल एवम् स्थापित नवीन कंडेल सञ्चालक रहेको गालासिलस्थित ‘१९५३ बार एण्ड रेष्टुरेन्ट’ले पहिलो वर्ष आसपासमै पाँच अवार्ड हात पारिसकेको छ ।

गत सोमबार ग्लास्गोस्थित ‘डबल ट्री हिल्टन होटेल’ मा ५ सय बढीको उपस्थितिमा आयोजित ‘स्पाइस अवार्ड समारोह’ मा १९५३ बार एण्ड रेष्टुरेन्टले ‘बेस्ट इन्डियन रेष्टुरेन्ट अफ द इयर २०२४’ को अवार्ड प्राप्त गर्‍यो । सोही अवसरमा ‘बेस्ट टेकवे अफ द इयर’ विधामा पनि रेष्टुरेन्टले स्पाइस अवार्ड पायो।

सञ्चालक नवीन कंडेल

नेपाली तथा इण्डियन खाना पस्किने यो रेष्टुरेन्टले यसअघि स्कटिश करी अवार्ड २०२४ मा ‘किचन अफ द इयर अवार्ड’, स्कटिश एसियन फुड अवार्ड २०२३ मा ‘न्यू रेष्टुरेन्ट अफ द इयर अवार्ड’ र स्पाइस अवार्ड २०२२ मा ‘बेस्ट रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितिसकेको छ ।

सञ्चालक नवीन कंडेलका अनुसार स्पाइस अवार्ड जित्ने क्रममा रेष्टुरेन्टका सेफ अर्जुन खरेलको टीम ग्लास्गोको सिटी कलेजमा पुगेर लाइभ खाना पकाएर जुरीहरुको मन जितेको थियो । अवार्ड आयोजकहरु रेष्टुरेन्ट भिजिटमै समेत आएर खाना चाखेर चित्त बुझाएपछि मात्रै रेष्टुरेन्टलाई अवार्डको लागि चयन गरेका थिए ।

रेष्टुरेन्ट सञ्चालक कंडेलले १९५३ बार एण्ड रेष्टुरेन्ट स्थापनाको एक वर्षमै स्थानीय क्षेत्रमा प्रतिष्ठित पाँच अवार्ड प्राप्त गर्दा उत्साहित भएको बताए ।

‘रेष्टुरेन्ट स्थापनाको पहिलो वर्ष यसै पनि कठिन र चुनौतिपूर्ण हुने गर्छ । यही बीचमा हामीलाई प्राप्त यी अवार्डहरुले हौसला बढाएको र उत्साहित पारेको महशुस भएको छ’, कंडेलले नेपालीलिंकसंग भने ।

उनले रेष्टुरेन्ट सफलताको श्रेय आफ्ना आमाबुवा, सम्पूर्ण स्टाफ र ग्राहकलाई दिंदै धन्यवाद ज्ञापन गरेका छन् ।

स्पाइस अवार्ड २०२४

दुई दशक भन्दा लामो समयअघि बेलायत आएका रेष्टुरेन्ट सञ्चालक कंडेल शुरुका केही वर्ष लन्डनमा थिए ।

उनले लन्डन कोभेन्टगार्डेनको पुरानो रेष्टुरेन्ट ‘पञ्जाब’ सहितका कयौं रेष्टुरेन्टमा अनुभव बटुले । त्यसअघि इन्डिया, रशिया, जापान र दुबई लगायत मुलुक पुग्दा पनि उनी रेष्टुरेन्ट क्षेत्रमा कार्यरत रहेका थिए ।

स्कटिश करी अवार्ड २०२४

व्यवसायका शिलशिलामा स्कटल्यान्ड पुगेका कंडेलको पहिलो रेष्टुरेन्ट स्कटल्यान्ड फाइफस्थित अन्नपूर्ण ‘गोर्खा रेष्टुरेन्ट’ थियो । जसलाई उनले सन् २००९ मा सञ्चालनमा ल्याएका थिए ।

पछि सन् २०१३ मा शुरु गरेको ‘मसलबरा गोर्खा रेष्टुरेन्ट’ बाट समेत उनले सन् २०१६ मा स्कटल्याण्ड बिजनेस अवार्ड पाएका थिए। कंडेलले सन् २०२२ मार्चदेखि एडिनबराको पेनीक्वीकमा ‘कोशी रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन् जुन रेष्टुरेन्टको उद्घाटन बीबीसी मास्टर सेफ सन्तोष शाह र स्थानीय सांसदले गरेका थिए ।

स्कटल्याण्ड बिजनेस अवार्ड २०१६

कंडेलको चौंथो तथा पछिल्लो रेष्टुरेन्ट ‘१९५३ बार एण्ड रेष्टुरेन्ट’  गत वर्ष मे महिनामा एडिनबराबाट एक घण्टा ड्राइभको दूरीमा पर्ने दक्षिणी टाउन गालासिलमा स्थापना भएको हो ।

सन् १९५३ मे महिनामा पहिलोपटक सगरमाथा आरोहण भएको मितिबाटै रेष्टुरेन्टको नामाकरण गरिएको कंडेलले बताए ।

‘बेलायतमा लगभग सबै नेपाली रेष्टुरेन्टको नाम एभरेष्ट र गोर्खा मात्रै हुंदा सबै मिल्दा जुल्दा लाग्ने भएकाले केही नौलो र आकर्षक बनाउने प्रयासमा हामीले सगरमाथा पहिलो आरोहणको वर्षलाई रेष्टुरेन्टको नाम बनाएका हौं’, उनले सुनाए ।

एसियन फुड अवार्ड २०२३

सेफ अर्जुन खरेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू