टीआरसी विधेयक प्रमाणीकरण : अमेरिका, बेलायतसहितका देशबाट स्वागत
काठमाडौँ, भदौ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ’- प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिका, बेलायतसहितका देशबाट स्वागत
नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् ।
अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत गरेका हुन् ।
ती देशले पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रको खोजी गर्ने उल्लेख गरेका छन् । निर्णय प्रक्रियामा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख छ ।
“हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी हस्ताक्षरकर्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकता छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको ती देशले जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५