बेलायतमा सेल्फ आइसोलेसन अवधि ७ दिनबाट बढेर १० दिन
लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका लक्षण देखिनेहरुले बस्नुपर्ने ‘सेल्फ आइसोलेसन’ अवधि लम्ब्याइएको छ ।
अहिलेसम्म सात दिन रहंदै आएको उक्त अवधि बढाएर १० दिन पुर्याउने निर्णय बेलायत सरकारले गरेको छ ।
बिस्तारै ओरालो लाग्दै गरेको संक्रमण फेरि फैलिन नपाओस् भनेर सेल्फ आइसोलेसनलाई थप लम्ब्याउने निर्णय गरिएको बताइएको छ ।
बेलायत सरकारका चार जना चीफ मेडिकल अफिसरहरुले संयुक्त रुपमा नयाँ नियम सार्वजनिक गरेका छन् ।
विज्ञहरुका अनुसार कुनै पनि संक्रमित व्यक्तिमा लक्षणहरु देखिनुपूर्व र संक्रमित भएको शुरुका केही दिनहरुमा अरुलाई सार्ने जोखिम उच्च रहन्छ । तर, कतिपय केसहरुमा संक्रमण भएको ९ दिनसम्म पनि संक्रमण सार्न सक्ने खतरा पाइएको छ ।
यसअघि बेलायतले तोकेको सात दिनको सेल्फ आइसोलेसन पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको थियो । विश्व स्वास्थ्य संगठनबाट १० दिनको निर्देशिका जारी हुँदा समेत बेलायतमा सात दिन नै राखिएको थियो ।
विश्वका धेरै देशले भने सेल्फ आइसोलेसनको अवधि यसअघि नै १० दिन बनाइसकेका छन् ।