लन्डनका सन्तोष राई ट्रायथलन वर्ल्ड च्याम्पियनसीपमा प्रतिष्पर्धा गर्दै
लन्डन । दुई नेपाली खेलाडी लन्डन बस्ने सन्तोष राई र अमेरिकाको बोस्टनका सन्तोष कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा आउंदो अगष्ट २५ मा हुने वर्ल्ड च्याम्पियनसीपको एलिट क्याटेगोरीमा सन्तोषद्वयले प्रतिष्पर्धा गर्न लागेका हुन् ।
नेपाल ट्रायथलन एसोसिएसनले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गरांउन सन्तोषद्वयलाई छनोट गरेको हो ।
ट्रायथलन प्रतियोगितामा ३ किमी स्वीमिङ, ११४ किमी साइक्लिनिङ र ३० किमी रनिङ प्रतिष्पर्धा हुने राईले जनाए ।
अष्ट्रेलिया जानुअघि राईले नेपाललाई प्रतिनिधित्व गर्दै खेल्न पाउंदा गर्व लागेको बताए । फुलटाइम जागिरपछि स्वीमिङ, साइक्लिङ र रनिङ सबैको तालिम संयोजन गर्न केही कठिन भएपनि आफूमा आत्मविश्वास बढेको उनले बताए ।
ट्रायथलन मल्टिस्पोर्ट वर्ल्ड च्याम्पियनसीप टाउन्सभिल १२ दिने इभेन्ट्स हो जसमा उमेर समूह, पारा ट्रायथलीट, जुनियर, २३ वर्षमुनी र एलिटहरुसहित पांच विभिन्न स्तरका खेलाडीबीच १९ वटा विश्व च्याम्पियनसीप दौड हुनेछन्।
यस प्रतिष्पर्धाका लागि विश्वभरका ४० बढी देशको प्रतिनिधित्व गर्ने ३ हजार प्रतियोगी सहभागी हुंदैछन् ।
सन् २००९ देखि दौड्न थालेका राईले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् ।
दुई वर्षमा ति विश्वप्रसिद्ध म्याराथन सम्पन्न गरेका राई नेपाल रन यूकेका संस्थापक हुन् ।
नेपाल रन यूके अहिले नेपाल र बेलायतका नेपाली खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्न र खेल विकासमा क्रियाशील छ ।
सन्तोषलाई एनबीसी यूके र एनआरएनए यूकेले आर्थिक सहयोग गरेका छन् ।
एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले सन्तोषको मिहिनेत र खेल लगावबाट आफू प्रभावित भएको र यसपटक नेपाल देशलाई नै चिनाउन जान लागेकाले संस्थागत प्रायोजन गरिएको जनाए ।
नेपाल रन यूके अध्यक्ष पाण्डव महतोले शुभकामना दिंदै राईले नेपाली समुदायमा स्वास्थ्य सचेतना जगाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गरे ।
धरान टेन के रनका परिकल्पनाकार राई इंग्ल्याण्ड एथलेटिक्स र नर्थ वेष्ट रिजनल काउन्सिलको आयोजनामा २७ सेप्टेम्बरमा हुन लागेको नर्थ वेष्ट रिजनल भोलुन्टियर अवार्डसमा वेष्ट कोच अफ द इयरका लागि मनोनित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५