नेपलिज नर्सिङ एसोसिएसन स्कटल्याण्डले पहिलोपटक गर्यो स्वास्थ्य शिविर
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूके स्कटल्याण्ड शाखाले पहिलोपटक स्वास्थ्य शिविर गरेको छ ।
स्कटल्यान्डको ग्लास्गो शहरमा आयोजित उक्त निःशुल्क शिविरमा नेपाली समुदायबाट एकसय जना बढीको सहभागिता थियो । हेल्थ क्याम्पमा स्वास्थ्य सचेतनासम्बन्धि विभिन्न ‘प्रिजेन्टेसन’ पनि भए ।
स्वस्थ्य शिविरमा युनिभर्सिटी हस्पिटल वीसअका कन्सल्टेन्ट डा. वरुण कुमार लालले पावरपोइन्ट प्रिजेन्टेसनमार्फत डायबेटिज, हाइपरटेन्सन, कार्डियोभास्कुलर सम्बन्धि जानकारी सरल भाषामा दिएका थिए ।
त्यस्तै नेपियर युनिभर्सिटीकी लेक्चरर देवी कंडेलले डायबेटिजबारे जानकारी दिइन् ।
कार्यक्रममा डा. राधा अधिकारी, शारदा रायमाझी (पीएचडी नेपियर युनिभर्सिटी), सिनियर नर्सहरु अनुज श्रेष्ठ र सविना बज्राचार्य, ज्योतिष सापकोटा लगायतको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
शिविरमा नेपालबाट आएका वृद्धवृद्धाले निकै चासो दिएर आफ्नो ब्लडप्रेसर, ब्लडसुगर आदि जांच गराएका थिए ।
उक्त शिविरमा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष सुनिता गौतम लन्डनदेखि सहभागी भएर उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् ।
समुदायले कार्यक्रम एकदम उपयोगी र लाभदायक भएको बताएको र आगामी दिनमा पनि यस खालका कार्यक्रम सञ्चालन गरिदिन अनुरोध आएको शाखा अध्यक्ष सरोजा अर्यालले बताइन् ।
शिविर सफल बनाउन ग्लास्गो नेपाली एसोसिएसन र साउथसाइड नेपाली कम्युनिटीको उल्लेखनीय भूमिका थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५