मंगलबार, पुष ९, २०८१
18:47 | ००:३२

बुद्धिष्ट गुम्बा रेडिङ यूकेले धर्मदेशना कार्यक्रम गर्दै

अगष्ट १८ एम्पायर हलमा ‘भर्दो थ्योडोल छेन्मो’ हुने

नेपाली लिङ्क जुलाइ २९, २०२४


लन्डन- बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा आउँदो अगष्ट १८ तारिख एक विशेष कार्यक्रम ‘भर्दो थ्योडोल छेन्मो’ अर्थात ‘अन्तराभव श्रवण महाविमुक्ति’ धर्म देशना गरिने भएको छ ।

जस अन्तर्गत मृत्यु अवस्थाको अन्तराभव, धर्मता अन्तराभव,भाव अन्तराभव जस्ता विषयमा आधारित मृत्यु पश्चात गरिने बौद्धिक विधि, पद्धति, तथा संस्कार सम्बन्धि गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुव्तेन येशे) द्वारा बृहत च्योद पूजा गरिने भएको छ ।

‘भर्दो थ्योडोल छेन्मो’ अन्तराभव श्रावण महाविमुक्ति ग्रन्थ वैदिक गरुड पुराण जस्तै धर्म ग्रन्थ हो । मृत्यु पश्चात् पुनर्जन्म प्राप्त नभए सम्मको यात्राबारे विस्तृत मार्गदर्शन उपदेशलाई भर्दो थ्योडोल भनिन्छ।

आइतबार बिहान एक पत्रकार सम्मेलनमार्फत आयोजकले सो कुरा जनाएका हुन् ।

अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि दिउँसो ५ बजेसम्म आयोजना गरिने उक्त कार्यक्रमका लागि प्रवेश शुल्क २० पाउण्ड निर्धारण गरिएको छ । कार्यक्रममा सम्पूर्ण धर्मावलम्बीका लागि ग्रह शान्ति एवम् पाठपूजा पनि गरिनेछ । ग्रह शान्ति कार्यक्रमबाट संकलित भेटी तथा दक्षिणा गुम्बाको भौतिक सरचना एवंम् गरिब तथा असहायहरुको सहयोगमा खर्चने गुम्बाले जनाएको छ ।

पछिल्लो समय बेलायतमा नेपालीहरुको जनसंख्या तीव्र रुपमा बढ्दै गएकाले विशेषगरी बौद्ध धर्मका अनुयायीहरुले मृत्युपश्चात गर्ने संस्कारमा विविधता देखिएको हुँदा यसलाई एकरुपता ल्याउन धर्म देशना ग्रन्थले महत्वपूर्ण भूमिका खेल्ने मूल गुरुले बताए । वैदिक धर्ममा गरुड पूराणका आधारमा सबै वैदिक अनुयायीहरुले मृत्यु संस्कारलाई एकरुपता दिंदै आए जस्तै बौद्ध धर्ममा पनि एकरुपता दिनुपर्नेमा उनले जोड दिए ।

बेलायतमा बसेर नेपालको जस्तो विविध प्रक्रिया पूरा गर्न परिस्थित, परिवेश र समयका कारण सम्भव नहुने हुँदा यहांको परिवेशलाई मध्यनजर गर्दै धर्म ग्रन्थको विधि र पद्धति अनुसार आ-आफ्नो मौलिक संस्कार गर्नुपर्ने लामाले बताए । ‘अन्तराभव श्रवण महाविमुक्ति’ भनेको कर्मकाण्ड, मृत्यु संस्कार विधि र पद्धतिमा मात्र आधारित नभएर मानवको चित्तको यथार्थ रुपमा परिचित गर्ने एक दर्शन हो, जसले जीवित हुँदा नै ध्यान र समाधिको आधारमा चित्तको पहिचान गर्छ ।

मृत्यु भनेको प्राकृतिक नियम हो, यसलाई परिवार र स्वयम् आफैंले पनि स्वीकार्नुपर्छ । करिव ८० प्रतिशत मानिसहरु मृत्यु आफ्नै घरमा चाहन्छन्, तर यहाँ यसको विपरित भइरहेको र अस्पतालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।

‘मृत्युको लक्षण आइसकेपछि उसले चाहेको व्यक्तिलाई भेट्न, आफ्नो मनको कुरा बताउन र आफ्नो इच्छा पूरा गर्ने वातावरण सृजना गराउनुपर्छ’ लामाले भने । बेलायतवासी नेपालीहरुको लागि अत्यन्त उपयोगी उक्त कार्यक्रममा सहभागी हुन सबैलाई मूल गुरु तथा गुम्बाको तर्फबाट आग्रह गरिएको छ ।


बेलायतमा करिब ५ वटा जति गुम्बा स्थापना भइसकेका छन् । गुम्बाले केवल पाठपूजा, कर्मकाण्ड, ग्रहशान्ति र पितृकार्य मात्र हैन, भगवान बुद्धको शान्ति शन्देश र मार्गलाई समाजमा सविस्तार गर्नु र बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउनसमेत भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

यसैगरी कर्मकाण्ड, मृत्यु संस्कार विधि र पद्धतिलगायत विभिन्न विषयमा आधारित रहि बुद्धिष्ट गुम्बा यूके रेडिङले आउँदो सेप्टेम्बर २ देखि ८ तारिखसम्म रेडिङस्थित आफ्नै गुम्बामा भगवान बुद्ध (प्रज्ञा पारा बिद्या) को १६ ठेली ग्रन्थहरु वाचन गर्ने कार्यक्रम छ ।

गुम्बाका अध्यक्ष रि. इन्स्पेक्टर खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर रि. बुद्धि बहादुर गुरुङ, ट्रष्टी, पूजा कोअर्डिनेटरहरु, आमा समूह अध्यक्ष उषा गुरुङ, मिना गुरुङ, कार्यसमितिका सदस्य, तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ लगायतको उपस्थिति थियो ।

एसके गुरुङले मिडिया संयोजन तथा व्यवस्थापन गरेका थिए । बुद्धिष्ट गुम्बा रेडिङ सन् २०१८ देखि संचालनमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू