पहिलो एनआरएनए कपको ‘टिम ड्र’ गरियो, महोत्सव तयारी अन्तिम चरणमा
लन्डन । एनआरएनए यूकेले अगष्ट ३ मा लन्डन फेल्थाममा गर्न लागेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिताको ‘टिम ड्र’ गरिएको छ ।
आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा एनआरएनए यूके खेलकुद विभाग सल्लाहकार दिपेन्द्र गुरुङले अध्यक्ष प्रेम गाहामगर, मिडियाकर्मी, अतिथीहरु, प्रायोजक लगायतको रोहवरमा ‘टिम ड्र’ गराएका हुन् ।
प्रतियोगितामा भेट्रान र नन भेट्रान गरि ४० टिमको सहभागिता रहने छ । नन भेट्रान वीनरले दुई हजार पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ भने रनर अपले एक हजार पाउण्ड, ट्रफी र प्रमाणपत्र दिइनेछ । म्यान अफ द म्याच, वेष्ट स्कोरर, वेष्ट किपरलाई पनि उपाधि प्रदान गरिनेछ ।
कार्यक्रममा युवा तथा खेल संयोजक विशाल राईले एनआरएनए कपको उद्देश्यबारे प्रष्ट पार्दै यसलाई सफल बनाइदिन सबैमा अपिल गरे ।
बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गर्न लागिएको उनले जनाए ।
खेल सहसंयोजक एवं आर्थिक संयोजक असल लिम्बुले प्रायोजकहरुबारे जानकारी दिएका थिए । लिम्बुले प्रतियोगिताका लागि सयौं व्यक्ति तथा कम्पनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग गरेर युवाहरुलाई थप हौसला प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
सदस्य सचिव निकेश लिम्बुले इभेन्ट्स तयारी करिब ९५ प्रतिशत पुरा भइसकेको जनाउंदै प्रतियोगिता र महोत्सव दुवैमा प्रवेश निशुल्क भएको जनाए । उनले खेल हेर्न आउने दर्शकहरुको ‘हेल्थ एन्ड सेफ्टी’ सम्बन्धि व्यवस्था मिलाइसकिएको पनि उल्लेख गरे ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतमा नेपाली नयां र पुरानो पुस्ताबीच बढ्दै गएको दुरी कम गर्न प्रतियोगिता गरिएको प्रस्ट्याए । खेलकुद गतिविधिमा युवा सहभागिता बढी हुने भएकाले एनआरएनए कप गरिएको उनको भनाइ थियो ।
‘नेपाली कला संस्कृति, रिति रिवाज, भाषा, भेषभूषा नयां पुस्तामा हस्तान्तरण गर्दै नगए लोप हुने अवस्था भएकाले संस्थाले आफ्नो स्वार्थका लागि नभइ दोस्रो पुस्तालाई ध्यानमा राखेर इभेन्टस गरेको हो’- गाहामगरले भने- ‘अबका दिनमा यहाँका झन्डै ३३४ नेपाली संघसंस्था मिलेर एनआरएनए कप र नेपाली महोत्सव पालैपालो सञ्चालन गर्ने योजना पनि भइरहेको छ ।’
उनले महोत्सवमा सातै प्रदेशका किशोरी, पाइपर धुन र पन्चे बाजाद्वारा अतिथीहरुलाई स्वागत गरिने जनाए । महोत्सवमा खाना र अन्य व्यापारिक स्टल रहने जनाउंदै उनले सबै संघसंस्थाका प्रतिनिधिलाई सहभागी भएर युवाहरुलाई हौसला प्रदान गर्न अपिल गरे । उनले धेरथोर आर्थिक सहयोग गरि ऐक्यवद्धता जनाइदिन पनि आग्रह गरे ।
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रममा प्लाटिनम स्पोन्सरहरु सी ५३ कम्पनीका निर्देशक अजय ठकुरी र मनिष खालिङ, नेपाल फुड्सका निर्देशक विकास नेपाल, श्रीकृष्ण बडा पाउका अपरेशनल म्याजेनर चेत गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए यूके गोर्खा टास्क फोर्सका प्रमुख संयोजक ओमप्रसाद थापा, एनआरएनए यूके आइसीसी सल्लाहकार शारदा गुरुङ, गुल्मी जिल्ला समाज यूके अध्यक्ष रुद्र थापा, तमुधिं लन्डन इकाइ अध्यक्ष भरत गुरुङ लगायत उपस्थित थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५