शुक्रबार, कार्तिक २, २०८१
07:23 | १२:०८

बेलायतमा निधन भएका युवाको जन्मथलो जाजरकोटमा गरियो अन्त्येष्टि

नेपाली लिङ्क जुलाइ २४, २०२४


लन्डन- नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भइ फोक्सटोन, केन्टमा बसोबास गर्ने स्वर्गीय बेदराज खत्रीको अन्त्येष्टि उनको जन्मथलोमै भएको छ।

३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो ।

उनको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाज लगायतका संस्थाले सहयोग संकलन गरेका थिए । कोरोनरले अनुमति दिएपछि गत महिना उनको शव नेपाल पठाइएको थियो।

उनको शव काठमाडौँ पुगेपछि तत्कालिन उर्जामन्त्री शक्ति बस्नेत लगायतले श्रद्धान्जली व्यक्त गरेका थिए । त्यसपछि उनको शव परिवारको इच्छा अनुसार जन्मथलोमै लगेर अन्त्येष्टि गरियो।

स्वर्गीय खत्रीकी पूर्व श्रीमती आफ्नी तीन वर्षीय छोरीसहित फोक्सटोनमा बस्छिन्।

गत वर्ष नोभेम्वरमा पश्चिम नेपालमा आएको भूकम्पबाट प्रभावित खत्रीको परिवारमाथि जेठो छोराको निधनबाट अर्को चोट परेको थियो ।

उनका वृद्ध बाबुआमाले आफ्नो जेठो छोरा बेद खत्रीको अनुहार हेर्न साथै अन्तिम दर्शन तथा दाहसंस्कारका लागि नेपाल पठाइ दिन आग्रह गरेपछि फोक्सटोन नेपाली समाजले सहयोग संकलन सुरु गरेको थियो ।

“स्वर्गीय खत्रीको शव नेपाल पठाउन हामीले चलाएको सहयोग संकलन अभियानबाट ८१२० पाउण्ड संकलन भयो । शव नेपाल पठाउन लागेको खर्च कटाई बाँकी बचेको रकममध्ये १३१५ पाउण्ड उनका बुबा आमालाई सहयोगार्थ नेपाल पठायौं भने त्यत्ति नै रकम उनकी छोरीको लागि पूर्व श्रीमतीलाई हस्तान्तरण गरेका छौं,” फोक्सटोन नेपाली समाजका अध्यक्ष सेवानिवृत्त क्याप्टेन रामबहादुर पुनले भने।

उनले यो मानवीय कार्यमा सहयोग गर्ने भेरी समाज यूके, क्षेत्री समाज यूके, क्यान्टरबरी समाज यूके, बेलायतस्थित नेपाली दूतावास लगायत सबै सहयोगीलाई हार्दिक धन्यवाद पनि दिएका छन्।

समाजले यस अघि पनि बेलायतमा दिवंगत भएका नेपालीहरुको शव नेपाल पठाउन वा बेलायतमै अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू