लन्डनका पत्रकार केसीले दूतावासलाई दिए नेपाली ल्यान्डस्केप पेन्टिङ
लण्डन- लन्डनस्थित पत्रकार प्रकाश केसीले आफूले बनाएको एक थान पेन्टिङ नेपाली दूतावासलाई उपहारस्वरुप प्रदान गरेका छन् ।
व्यवसायिक चित्रकार समेत रहेका केसीले बुधबार दूतावास गएर कार्यवहाक राजदूत रोशन खनाललाई क्यानभासमा निर्मित एक्रेलिक ल्यान्डस्केप नेपाली पेन्टिङ प्रदान गरेका हुन् ।
पेन्टिङ ग्रहण गर्दै कार्यवहाक राजदूत खनालले निकै मिहेनत गरेर बनाएको सुन्दर चित्रकला दूतावासलाई प्रदान गरेकामा केसीप्रति आभार व्यक्त गरिन् ।
उक्त चित्रकलाले दूतावास आउने सबैलाई नेपाल सम्झाउने विश्वास पनि खनालको थियो ।
सो अवसरमा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल पनि सहभागी थिए ।
फुर्सद निकालेर हप्तौँ समयमा निर्मित एक वर्ग मिटर साइजको क्यानभास पेन्टिङमा नेपाली संस्कृति, भेषभूसा र परिवेश झल्कन्छ । उनको चित्रमा देश छाडेको करिव अढाइ दशक बित्दा पनि नेपालप्रति उत्तिकै समर्पण देखिन्छ ।
घट्ना र विचार साप्ताहिकसँग आवद्द पत्रकार केसीले पोखरामा स्कुल पढ्दा झन्डै तीन दशकदेखि नै पेन्टिङ शुरु गरेका थिए । सन् १९९८ मा हङकङ गएपछि उनको चित्रकारिता केही समय विश्राम लाग्यो ।
हङकङ बसाइका क्रममा उनले ‘शब्दघोष जीजिविषाको’ कथा संग्रह, ‘हङकङ डायरी’, र ‘हङकङमा कविता’ जस्ता तीनवटा पुस्तक प्रकाशित गरे । हङकङ छंदा उनी तेक्वान्दोका ब्ल्याक बेल्ट पनि भए भने पत्रकारितामा सक्रिय रहे।
१२ बर्षपछि सन् २०१० मा बेलायत आएका केसीले कोभिड महामारीमा लकडाउनको फुर्सदिलो समय व्यवसायिक चित्रकलामा खर्चिए । उनले अहिले आफ्नो वेवसाइट मार्फत व्यवसायिक चित्रकलालाई पनि अगाडि बढाएका छन् ।
अहिले उनी नेपाल, हङकङ र बेलायतको समसामयिक परिवेशमा आधारित उपन्यास ‘निस्तब्ध कोलाज’ लेखनमा व्यस्त छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५