मंगलबार, पुष ९, २०८१
02:04 | ०७:४९

भारी बहुमतसहित बेलायतको ५८ औं प्रधानमन्त्री बने किअर स्टार्मर

नेपाली लिङ्क जुलाइ ५, २०२४


लन्डन । लेबर पार्टीको भारी बहुमतसहित पार्टीका नेता सर किअर स्टार्मर बेलायतको ५८ औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

निर्वाचनको जीतसंगै शुक्रबार मध्यान्ह बकिङहम प्यालेस पुगेर राजा चार्ल्सलाई भेटेपछि उनी देशको नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

६१ वर्षीय नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर सन् २०२० देखि बेलायतको तत्कालीन प्रमुख विपक्षी लेबर पार्टीको नेता रहंदै आएका थिए। त्यसअघि उनी सन् २०१५ देखि लण्डनको किङक्रस एण्ड सेन्ट प्यांक्रास निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित हुंदै आएका छन् ।

स्टार्मरको पारिवारिक पृष्ठभूमि ‘वर्किङ क्लास’ हो । उनका बाबु मिस्त्रीको रुपमा काम गर्थे भने आमा यहाँको नेश्नल हेल्थ सर्भिसमा काम गर्ने नर्स थिइन् । स्टार्मर आफ्नो परिवारबाटै युनिभर्सिटी जाने पहिलो सदस्य थिए ।

राजनीतिमा आउनुअघि स्टार्मर एक कानून व्यवसायी थिए । सन् १९८७ मा ब्यारिष्टर बनेका उनको विशेषज्ञता मानवअधिकार क्षेत्रमा थियो । सन् २००८ मा क्राउन प्रोजिक्युसन सर्भिस (अभियोजन कार्यालय) को प्रमुख नियुक्त भएका उनले अपराधीहरुलाई न्यायको दायरामा ल्याउने कार्यमा विशेष योगदान गरेबापत राज्यबाट सम्मानित हुंदै सर केयर स्टार्मर बनेका थिए।

स्टार्मरकी पत्नी भिक्टोरिया पनि नेश्नल हेल्थ सर्भिसमै कार्यत छन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै स्टार्मरले सरकारी कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर उभिएर आफ्नो पहिलो सम्बोधन गरे । त्यस क्रममा उनले आफ्नो चुनावी अभियानको प्रमुख नारा बनाएको परिवर्तनको मुद्धालाई नै जोड दिंदै भने, ‘परिवर्तनको काम तत्काल शुरु हुन्छ ।’

उनले देशलाई रिसेट गर्नुपर्ने आवश्यकता औंल्याउंदै गभर्मेन्ट अफ सर्भिस (सेवाको सरकार) प्रत्याभूति दिलाउने प्रतिवद्धता गरे ।

बेलायतमा एसियालीमूलको पहिलो प्रधानमन्त्रीका रुपमा ऋषि सुनकले हासिल गरेको उपलब्धि र देशको सेवामा पुर्याएको योगदानको पनि उनले प्रशंसा गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू