मंगलबार, पुष ९, २०८१
02:17 | ०८:०२

गोर्खा भेट्रानमाझ कियर स्टारमर, इमिग्रेशन शुल्क घटाउने वाचा

नेपाली लिङ्क जुलाइ १, २०२४


लन्डन । बेलायतको प्रमुख प्रतिपक्ष लेवर पार्टीका नेता कियर स्टारमरले ब्रिटिश तथा गोर्खा भेट्रानसंग साक्षात्कार गरेका छन् ।

सर्वेक्षणहरुका अनुसार सम्भावित प्रधानमन्त्री ठानिएका स्टारमरले गत २९ जुन शनिबार अल्डरसट फुटबल कलवमा ब्रिटिश तथा गोर्खा भेट्रानहरुसंग भेट गरेका हुन् ।

बेलायतमा यही ४ जुलाई बिहीबार आमनिर्वाचन हुंदैछ । उक्त निर्वाचनबाट लेवर सत्तामा आउने मत सर्वेक्षणहरुले देखाएका छन् ।

स्टारमर बिहान ९ देखि १२ बजे मध्यान्हसम्म ६ वटा राउण्ड टेवलमा भेट्रानहरुले साक्षात्कार गरेपछि जलपानमा सरिक भएका थिए ।

‘होम अफ ब्रिटिश आर्मी’ भनिने रसमोरमा आयोजित भेटघाटमा गोर्खा भेट्रानका तर्फबाट तीन जनामात्र बोलाइएको थियो । जसमा एनआरएनए यूके आइसीसी सदस्य तथा गोर्खा टास्क फोर्सका प्रमुख संयोजक एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा, बिजिडब्लुएस् सक्रिय सदस्य तथा ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वर्तमान उपाध्यक्ष उत्तर गुरुङ र भूतपूर्व गोर्खा ९३ वर्षीय लेप्टन रि. पूर्णबहादुर गुरुङ सहभागी थिए ।


सो अवसरमा उत्तर गुरुङले रसमोरवासी नेपाली समुदायबारे कुरा राखेका थिए भने ओमप्रसाद थापा काउचाले गोर्खाहरुको जारी ‘जीटुजी’ वार्तामा कन्जरभेटिभ सरकार गम्भीर नभएको एवं भूतपूर्व गोर्खाहरुमाथि समान पेन्सन, वेलफेयर, इमिग्रेशन आदिमा भेदभाव भएको विषय उठाएका थिए ।

सो क्रममा नेता स्टारमरले आफ्नो पार्टी सरकारमा आए अध्यागमन शुल्क तुरुन्त कटौती गर्ने र गोर्खाहरुका समस्या समाधानमा पहल गर्ने आश्वासन दिएको थापाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू