बुधबार, पुष १०, २०८१
02:44 | ०८:२९

प्रचण्ड सरकार ढल्ने निश्चित, ओली देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति

नेपाली लिङ्क जुलाइ १, २०२४

फाइल तस्विर

काठमाडौँ, असार १७ गते– संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको इकान्तिपुरले उल्लेख गरेको छ ।

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा सहमति भएको हो ।

सहमतिको ड्राफ्ट तयार गर्ने एक नेताले दिएको जानकारी अनुसार ’एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको इकान्तिपुरले जनाएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको दाबी गरेकी थिइन् ।

मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन् ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रूपमा आइरहेका बताइन् ।

“गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन्, “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू