शनिबार, असोज ५, २०८१
21:20 | ०२:०५

बेलायती आम निर्वाचनमा नेता र नीतिको चासो

डा बच्चु कैलाश कैनी जुन २८, २०२४

अब केही दिनमा अर्थात् जुलाई ४ का दिन बेलायतमा आम निर्वाचन हुँदैछ । हरेक आम निर्वाचनजस्तै यो चुनावको पनि आफ्नै महत्व छ ।

युरोपियन युनियनबाट छुट्टिएपछिको प्रभाव र कोभिड –१९ माहामारीको विपत्तिपछिको यो पहिलो आम निर्वाचन भएको हुनाले बेलायती जनताको चासो र ध्यान यो निर्वाचनमा अलिक बढी नै देखिन्छ। यी दुवै कारणले बेलायतको अर्थतन्त्र र जनताको दैनिक जनजीवनमा केही गहिरो नकारात्मक प्रभाव परेको आर्थिक र सामाजिक सूचाङ्कहरुले प्रष्ट पारिसकेको छ।

१४ वर्षसम्म लगातार कन्जरभेटिभ पार्टीले सत्ताको नेतृत्व लिएर देशमा शासन सञ्चालन गरेको, यो अवधिमा लेबर पार्टी विपक्षीमा रहेको र बेलायतको इतिहासमा यी दुई पार्टीले आलोपालो सत्तासञ्चालन गरेको हुनाले सबैको आँखा, ध्यान र चासो यी दुई दलप्रति हुनु अस्वभाविक हैन।

त्यसो त, यो निर्वाचनमा भर्खर उदाएको यूके रिफर्म पार्टीको चर्चा पनि कम छैन। यो पार्टी ब्रेक्जिटको लागि गरिएको जनमत संग्रहमा यूकिप (यूके इन्डिपेन्डेन्स पार्टी) भनेर चिनिन्थ्यो र यो बेलायतको एक यूरोसेप्टिक र दक्षिणपन्थी राजनीतिक पार्टी थियो। यो दलले प्राप्त गर्ने मत मुख्यतय कन्जरभेटिभ पार्टीका विगतका मतदाताहरुबाट हुने भएकाले यो दल कन्जरभेटिभ पार्टीका लागि निकै टाउको दुखाई बनेको छ।

बेलायतको अर्थतन्त्रमा देखा परेको गतिहनता, स्वास्थ्य सेवामा देखिएको समस्या, जनताको दैनिकीमा परेको नकारात्मक असर, निरन्तर बढ्दै गएको आप्रवासीहरुको संख्या, कन्जरभेटिभ पार्टीभित्रको अस्थिर राजनीति आदि कारणले कन्जरभेटिभ पार्टीको लोकप्रियता घट्दै गएको छ र समग्र रुपमा बेलायतको अर्थतन्त्र र जनताको दैनिकीमा समेत चुनौती थपिएको छ । यस्तो विषम परिस्थितिमा हुन गइरहेको बेलायतको निर्वाचनमा मतदाताहरुको ध्यान तान्ने मुख्य दुई कुरा छन् – पहिलो, दलको नेता र दोश्रो, दलको नीति।

बेलायतको अर्थतन्त्रमा देखा परेको गतिहनता, स्वास्थ्य सेवामा देखिएको समस्या, जनताको दैनिकीमा परेको नकारात्मक असर, निरन्तर बढ्दै गएको आप्रवासीहरुको संख्या, कन्जरभेटिभ पार्टीभित्रकोअस्थिर राजनीति आदि कारणले कन्जरभेटिभ पार्टीको लोकप्रियता घट्दै गएको छ र समग्र रुपमा बेलायतको अर्थतन्त्र र जनताको दैनिकीमा समेत चुनौती थपिएको छ ।

यस्तो विषम परिस्थितिमा हुन गइरहेको बेलायतको निर्वाचनमा मतदाताहरुको ध्यान तान्ने मुख्य दुई कुरा छन् – पहिलो, दलको नेता र दोश्रो, दलको नीति।

कुरा शुरु गरौं, दलको नेताबाट । बेलायतको निर्वाचनमा कुन दलले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने पहिले नै थाहा हुन्छ। बेलायती राजनीतिक दलमा जो नेता हुन्छ, त्यही व्यक्ति नै दलको तर्फबाट प्रधानमन्त्री हुन्छ। त्यसैले भविष्यमा प्रधानमन्त्री हुने व्यक्तिको व्यक्तित्व, उसको नैतिकता, सार्वजनिक जीवन, आचरण, देश हाँक्न सक्ने वा सरकार चलाउन सक्ने दक्षता, नीति निर्माणमा उसको प्रष्टता र खुबी आदि सबैको मुल्यांकन हुन्छ। दलले वा संसदका उम्मेदवारहरुले मत प्राप्त गर्ने यो एक मुख्य आधार हो।

यसका साथै, टेलिभिजनमा नेताहरुबीच हुने चुनावी बहसले निकै मान्यता राख्छ र यस्ता बहसहरुलाई मतदाताहरुले चासो दिएर हेरेका हुन्छन्। यी बहसहरुमा कसले कस्तो नीति प्रस्तुत गर्छ, जनताका समस्याहरु समाधान गर्ने कुरा, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, राष्ट्रको सुरक्षा, ऊर्जा, जलवायु परिवर्तनजस्ता दैनिक जीविकोपार्जनका समस्या वा देशमा देखिएका वा देखिन सक्ने समस्याहरुको बारेमा जसले राम्रोसँग जनताको मन जित्न सक्छ, उसैले र उसको दलले निर्वाचनमा जित्ने सम्भावना हुन्छ।

बेलायतमा मुख्य राजनीतिक दलहरुको दलको नेता छान्ने प्रणाली पनि राम्रो छ। यहाँ दलको नेता चुनिन आफ्नो दलका सांसदहरुको मन जितेर मात्रै हुँदैन। पहिलो चरणमा आफ्नो दलका सांसदहरुले छानेर पठाएका दुई सांसदहरुले आफ्नो दलका सबै सदस्यहरुको बहुमत मत प्राप्त गरेपछि मात्रै ऊ दलको नेता चुनिन्छ। यो चरणबद्ध प्रक्रियाले असल र राम्रो मान्छे मात्रै दलको नेता हुने सम्भावना रहन्छ।

त्यस्तै, बेलायतमा सांसदको उम्मेदवार हुन पनि आफ्नो दलको कठिन र चरणवद्ध छनौट प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसैले, जो सुकै मान्छे नेताको आर्शीवादको भरमा टिकट पाउने प्रचलन यहाँ छैन।

लेखक डा बच्चु कैलाश कैनी

दोश्रो पक्ष हो, निर्वाचनमा दलहरुले प्रस्तुत गर्ने घोषणापत्र, जुन दलको भावी नीति र कार्यक्रमहरुको दस्तावेज हो। बेलायतमा दलहरुले हरेक वर्ष आफ्नो अधिवेशन वा बार्षिक कन्फरेन्स गर्छन्। हरेक वर्षको वार्षिक कन्फरेन्समा धेरै समय आफ्नो दलको आन्तरिक प्रक्रिया भन्दा आफ्नो दलको तर्फबाट देश र जनताको लागि के कस्ता नीति र कार्यक्रम बनाउने भनेर आफ्नो दलका प्रतिनिधि सदस्यहरु र हरेक क्षेत्रका विज्ञसंग गहिरो विचार, विमर्श र चिन्तन मनन गर्छन्। यसैको फलस्वरूप, आफ्नो दलको उद्धेश्य, दर्शन र लक्ष्यअनुसार नीति र कार्यक्रमहरु तय गर्छन्।

बेलायतमा राजनीतिमा संगालेको मेरो अनुभवमा राजनीतिक दलले गर्ने यो एक निरन्तर र अति उत्तम प्रक्रिया हो, न कि चुनावको बेला गरिने कर्मकाण्डीय औपचारिक प्रक्रिया। यसले गर्दा, हरेक क्षेत्रमा आफ्नो दलको दर्शन र सिद्धान्तअनुसार देश र जनताले भोगेका हरेक समस्याहरुसंग जुध्ने नीति निर्माण गर्न र यस्ता नीतिहरु लागू गर्न मद्धत पुग्छ।

कमीकमजोरी जहाँ पनि हुन सक्छन्। त्यसैले हरेक वर्ष आफ्नो वार्षिक अधिवेशनमा आत्मचिन्तन वा समीक्षा गर्ने, कुनै कमी कमजोरीहरु भए सच्याउने, नीतिगत कुरा मजबुद बनाउने, नीति नियम बनाउन ध्यान दिने र आफ्नो संगठन बलियो बनाउने काम यहाँका राजनीतिक दलले गर्छन्।

यसरी बनेका आफ्नो नीति र कार्यक्रमहरु जनतासामु लैजाने र यसको लोकप्रियता परीक्षण गर्ने अवसर निर्वाचन हो। त्यसैले, राजनीतिक दल मात्रै हैन, सर्वसाधारण जनताले पनि मुख्य राजनीतिक दलको नीति र कार्यक्रमहरुमा चासो दिन्छन्। यसैलाई आफ्नो मत दिने एक निर्णायक दस्तावेजको रुपमा पनि हेर्छन्। यो बेलायतको राजनीतिको सभ्य र मजबुद पक्ष पनि हो। जसले गर्दा राजनीति साँच्चै नै नीतिमुखी हुन्छ, देश सबल, समृद्ध र समाज समुन्नत हुन्छ ।

नीतिसंग जोडिने अर्को महत्वपूर्ण पाटो भनेको राजनीतिक दलले बोलेका, लागू गर्ने भनेका र घोषणापत्रमा लेखिएका नीति र कार्यक्रमहरुको कार्यन्वयन पक्ष हो। यो पक्ष पनि जनताले खुब राम्रोसँग नियालेर बसेका हुन्छन्। हरेक नीति बनाउँदैमा नै त्यसको कार्यान्वयन पक्ष पनि हेरिएको हुन्छ। जस्तै, नीति लागू गर्दा लाग्ने खर्च, प्राविधिक, कानूनी र व्यवहारिक पक्ष आदि अध्ययन गरेर नीति बनाइएको हुन्छ।

झुटको खेती गरेर बेलायतमा सत्तामा रहौंला वा जनतालाई मुर्ख बनाऔंला भन्ने नसोचे हुन्छ। यदि राजनीतिक दलले यस्तो गरेमा यसको सजाय जनताले तुरुन्तै अर्को निर्वाचनमा दिन्छन्। लोकतन्त्रको एकदमै सुन्दर पक्ष हो यो।

बेलायती निर्वाचनको अर्को रोचक पक्ष के हो भने, यहाँ विभिन्न स्वतन्त्र कम्पनी वा संस्थाहरुले मतदाताहरु, बेलायती राजनीतिक दलका नीति, नेताहरुको व्यक्तित्व र उमेदवारहरुको दक्षता आदिसहित निर्वाचनको सम्भावित परिणामको लागि मत सर्वेक्षण गरेका हुन्छन्। यसैको आधारमा सम्भावित परिणाम र आउने सरकारको अनुमान गरिन्छ, जुन धेरै हदसम्म विश्वासनीय मानिन्छ।

हालैको मत सर्वेक्षणमा यो लेख तयार गर्दासम्म बीबीसीको पोल ट्याकर (यस लिंकमा हेर्न सकिन्छ) अनुसार प्रमुख विपक्षी लेबर पार्टी सत्तारुढ कन्जरभेटिभ पार्टीभन्दा २० अंकले अघि देखिन्छ। अर्थात, लेबर पार्टीको हालको अंक ४० छ भने कन्जरभेटिभ पार्टीको अंक जम्मा २० छ।

यूके रिफर्म पार्टी कन्जरभेटिभ पार्टीभन्दा जम्मा ४ अंकले पछाडि छ। यसको अर्थ के भने यही प्रवृत्ति वा ट्रेन्ड रहिरहे आगामी आम निर्वाचनमा लेबर पार्टी भारी बहुमतले विजयी हुने र यसका नेता सर कियर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का छ।

अन्त्यमा, आफ्नै कुरा गरौं। सन् २०१७ को आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेको मलाई यस पटकको निर्वाचनमा पनि उमेद्वार हुने आशा नेपाली समुदायले गरेको थियो। मेरो दल लेबर पार्टीको तर्फबाट छनौट प्रक्रियामा सामेल भएको पनि थिएँ म । तर, प्रतिस्पर्धाको अन्तिम क्षणमा मैले उम्मेदवार हुने दौडबाट बाहिरिनु पर्‍यो  । राजनीति समाजसेवा मात्रै हैन, आफ्नो दक्षता र अनुभवअनुसारको काम गरेर समाजमा सकारात्मक योगदान दिने र स्वस्थ प्रतिस्पर्धा गर्ने ठाउँ पनि हो।

मैले यसलाई एक सिकाइको रुपमा लिएको छु र दौडमा अर्को पटक पनि सामेल हुने प्रतिवद्धता गरेको छु। नेपाली समुदायबाट बेलायतको संसदमा एकजना नेपाली मूलको सांसद भएको हेर्ने इच्छा बेलायतमा बस्ने धेरै नेपालीलाई छ। आशा छ, यो पटक पूरा नभए पनि अर्को पटकको निर्वाचनमा पक्कै पूरा हुनेछ।

(लेबर पार्टीआबद्ध पूर्व काउन्सिलर डा कैनी सन् २०१७ को बेलायती आम निर्वाचनमा उक्त पार्टीबाट सांसद उम्मेदवार थिए)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू