मंगलबार, पुष ९, २०८१
14:12 | १९:५७

गीनवीचकप भलिबलमा भिडे २ दर्जन टीम, उपाधि स्याङ्जालाई

नेपाली लिङ्क जुन २३, २०२४


लन्डन । साउथ इष्ट लन्डनमा वर्षेनी आयोजना हुंदै आएको ग्रीनवीच कप भलिबल प्रतियोगिताको पाँचौं संस्करण दुई दर्जन बढी टीमको सहभागितामा सम्पन्न भएको छ ।

ग्रीनवीच भलिबल परिवार (जीभीपी) यूकेले शनिबार वुल्लीच आर्टलरी ब्यारेकको ग्राउण्डमा आयोजना गरेको प्रतियोगितामा मेन क्याटेगोरीमा १४ तथा भेटेरानमा ५ र महिलातर्फ ६ टीमबीच प्रतिस्पर्धा भयो ।

मेन क्याटेगोरीमा विजेता बन्दै स्याङ्जा समाज यूकेको टीमले नगद १६ सय पाउण्ड र ट्रफी, मेडल, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्‍यो ।

उपविजेता २ आरजीआर भलिबल टीमले नगद १ हजार पाउण्डसहित ट्रफी, मेडल, प्रमाणपत्र पायो ।

भेटेरानतर्फ लगातार तीन वर्षसम्म विजेता बन्दै छन्त्याल समाज यूकेको टीमले रनिङ शिल्ड कब्जा गर्‍यो । उसले नगद १ हजार पाउण्डसहितको टफी, मेडल र प्रमाणपत्र पायो ।

भेटेरान विधामा उपविजेता बेजिङस्टोक भलिबल क्लबले नगद ६ सय पाउण्डनसहितको पुरस्कार पायो।

त्यस्तै, महिला विधातर्फ मोना यूकेको टीम विजेता र सालिजा क्लब उपविजेता बने । उनीहरुले क्रमशः ९ सय ५ सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा मेन क्याटेगोरीमा स्याङ्जा समाजका सागर गुरुङ, भेटेरानमा छन्त्याल समाजका चमान बलाल र महिलामा मोना यूकेकी झरना लिम्बू उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

सो अवसरमा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने अन्य खेलाडीलाई पनि सम्मान गरियो । हालै नेपालबाट आएका राष्ट्रिय भलिबल खेलाडी हरि थापालाई पनि सम्मान गरिएको थियो ।

विजेता टीम तथा खेलाडीहरुलाई प्रमुख अतिथि मेयर जीत रानाभाट, आयोजक क्लब अध्यक्ष रविन्द्र रोका मगर, प्रमुख संरक्षक विनोद ज्ञवालीसहित अन्य विशिष्ट अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

त्यसअवसरमा ग्रीनवीच बरोकी मेयरेस गौमाया गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, आरजीएनएस अध्यक्ष पुण्य रेग्मी, लिलादेवी गुरुङ, फडिन्द्र भट्टराई, ह्यारी गुरुङ, लछुमन गुरुङ, रोमनाथ पाण्डे, सुरज केसी, कृष्ण खरेलसहित विभिन्न संस्थाका प्रतिनिधि र स्थानीय समाजका अगुवाहरुको उपस्थिति थियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेयर जीत रानाभाट, क्लब अध्यक्ष रविन्द्र रोका मगर र प्रमुख संरक्षक विनोद ज्ञवालीले पानसमा बत्ती बालेर गरेका थिए ।

प्रमुख अतिथि मेयर रानाभाटको हातबाट बल सर्भिस गराएर खेल शुभारम्भ गरिएको थियो । फाइनल खेलअघि सनम थापा र सुप्रिया थापाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सञ्चालन क्लब महासचिव उमेश चन्द ठकुरी र मञ्जु भण्डारी खरेलले गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न यूकेका मान्यताप्राप्त चार जना अफिसियल रेफ्रीहरु ल्याइएको थियो ।

प्रतियोगिता सफल पार्न भूमिका खेल्ने आयोजक क्लबका सल्लाहकार, कार्यसमिति एवम् खेलाडी, प्रतियोगितामा भाग सबे टीम तथा खेलाडी, सहयोगदाता एवम् उपस्थित सबै दर्शकमा आयोजक ग्रीनवीच भलिबल क्लबले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतियोगिता व्यवस्थापनतर्फ आयोजक जीभीपीका सल्लाहकार कमल राना र विनोद चन्दले रेफ्रीहरुको संयोजन गरेका थिए भने जीभीपी क्लब म्यानेजर अनिल गुरुङ, कोच जीवन गुरुङ, क्याप्टेन चन्द्र पुन, अमर गुरुङ र कोषाध्यक्ष गिरी पुनले मेन क्याटेगोरी, शंकर थापा र वसन्त पौडेलले महिला तथा कर्मा पहाडी शेपा, राज कटुवाल र सञ्जय श्रेष्ठले भेटेरान विधाका खेल सञ्चालन गर्न भूमिका निर्वाह गरेका थिए ।

तस्विरहरु- प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू