शनिबार, कार्तिक १०, २०८१
18:34 | २३:१९

बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्त सिफारिस

नेपाली लिङ्क जुन २१, २०२४

लन्डन । नेपाल सरकार मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा पन्तसहित ८ जनालाई सिफारिस गरेको हो । 

लामो समय बेलायतमै रहेका पन्त विकास, अर्थतन्त्र र कूटनीतिका जानकार मानिन्छन् ।

बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीको ‘डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलप्मेन्ट’ को गरिवी र विकास कार्यक्रमको दक्षिण एसिया प्रमुख भइ काम गरेका डा. पन्त यसअघि कांग्रेस-एमाले संयुक्त सरकारका प्रधानमन्त्री सुशील कोइरालाको विकास र सामाजिक क्षेत्र सल्लाहकारको भूमिकामा थिए ।

उनलाई बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा कार्यरत रहंदा नेपाल बोलाइएको थियो । 

अमेरिका, बेलायत र पूर्व युरोपमा अध्ययन अध्यापन गरेका पन्त स्वास्थ्य, शिक्षा क्षेत्र सुधारका लागि बनेको माथेमा आयोगका ‘डिजाइनर’ मानिन्छ । 

छोटो समय सिंहदरबारमा रहंदा उनले राम्रो छाप छाड्ने काम गरेका थिए । केही समयपछि उनी राजिनामा दिएर बाहिरिएका थिए । 

उनको राजिनामा नेपालीमा टाइप गर्ने वरिष्ठ पत्रकारको भनाइमा ‘सहयोग गर्न बोलाएर आएको फेरि सजिलो होस् भनेर सहयोग गर्दै राजिनामा गरेको’ भन्ने मात्र व्यवहोराको थियो राजिनामा पत्र ।  

गोरखाको सरकारी स्कुलमा अध्ययन गरि विकास, अर्थतन्त्र र कूटनीतिमा देशविदेशमा काम गर्दा धेरै अनुभव हासिल गरेका उनी आफ्नो अनुभवले स-साना काम गर्ने हो ठूला कुरा होइन भन्ने मान्यता राख्छन् ।  

गोरखाको दुई गाउंपालिकालाई केन्द्र बनाएर कफी किसान समूहमार्फत लागिरहेका डा. पन्त जहां काम गर्दा पनि महिनाको अन्त्यमा आफ्नो गाउँ गोरखा पुग्न छाड्दैनन् । 

मन्त्रिपरिषद् बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ । रेग्मी बेलायतका लागि २१ औं राजदूतको रुपमा आएर ८ महिना नपुग्दै फिर्ता बोलाइएका थिए ।

त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए ।

डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

एमाले, माओवादी र जसपा भागबन्डाबाट बन्नेहरूको नाम सिफारिस भएका हुन् । रास्वापा कोटाको पछि सिफारिस हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू