शनिबार, कार्तिक १०, २०८१
18:22 | २३:०७

बेलायतबाट सडक मार्ग हुंदै नेपाल पुगे पूर्व प्रहरी अधिकृत रोशन

नेपाली लिङ्क जुन २१, २०२४

लन्डन– बेलायतमा बस्दै आएका नेपाल प्रहरीका एक पूर्व अधिकृत रोशन श्रेष्ठले बेलायतदेखि नेपालसम्मको सडक यात्रा पुरा गरेका छन् ।

नेपालको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित उनले जम्मा १४ हजार ८ सय किमी सडक यात्रा पुरा गरेका हुन् ।

गत अप्रिल २० मा बेलायतबाट यात्रा शुरु गरेका श्रेष्ठ विभिन्न १३ देशको स्थलमार्ग हुंदै जुन ४ तारिख नेपाल पुगेका थिए ।

त्यसक्रममा उनी फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, पोल्याण्ड, लिथुयानिया, लात्भिया, इस्टोनिया, रसिया, काजकास्थान, उज्बेकिस्थान, किर्गीस्थान र चीनको केरुङ्ग हुंदै नेपाल प्रवेश गरे ।

४६ दिन लामो यात्राका बीच उनले सगरमाथा, बुद्धको जन्मभूमि लुम्बिनीसहित पूरै नेपालको सुन्दरता हेर्न नेपाल भ्रमण गर्न अभिप्रेरित गर्दै प्रवचन पनि दिएका थिए ।

नेपाल चिनाउने पहिरनमा नेपाली झण्डा बोकेर निस्किएका उनले धेरैको ध्यान खिच्न सफल भएका थिए ।

एक दर्जन बढी देशको स्थलमार्ग हुंदै यात्रा गर्ने क्रममा रसियाको भिसा प्रक्रिया गर्न तथा बोर्डरमा सुरक्षा फौजको कडा निगरानीले हैरानी व्यहोर्नु परेपनि अन्यत्र भने त्यस्तो अप्ठ्यारो नपरेको श्रेष्ठले बताए।

यात्राका क्रममा तिब्बतमा भृकुटीले बनाउन लगाएको ठूलो मन्दिर तथा तिब्बतको जोखाङ्ग मन्दिरमा नेपालकी छोरी भृकुटी मूर्ति राखिएको देख्दा गौरव लागेको श्रेष्ठले सुनाए ।

त्यस्तै, रसियाको भोल्गाग्रादमा राजा महेन्द्रले स्टालिनलाई दिएको खुकुरी अझै म्यूजियममा सुरक्षित राखिएको उनले भेटेका थिए।

यात्राका क्रममा श्रेष्ठले विभिन्न विकसित मुलुकमा पर्यटकीय क्षेत्रहरु कसरी विकास र व्यवस्थित गरिन्छ भन्ने हेर्न पाए । नेपाल सरकारले पनि सर्वोच्च शिखर सगरमाथादेखि अन्य पर्यटकीय गन्तव्यहरु व्यवस्थित गर्न सके देशको पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

संसारको हरेक कुनामा नेपालको पहिचान बोकेर पुग्ने हुटहुटी रहेको बताउने श्रेष्ठले यसअघि भियतनाम, कम्बोडिया, थाइल्यान्ड लगायत पूर्वी एसियाका देशहरुमा नेपाल चिनाउने अभियान लिएर पुगेका थिए।

ओखलढुंगा पुख्र्यौली भएर धरानमा जन्मिएका श्रेष्ठ विगत २५ वर्षदेखि परिवारसहित बेलायत बस्दै आएका छन्।

श्रेष्ठले पाँच वर्षअघि नै यो अभियान शुरु गर्न प्रयास गरेपनि त्यसबेला महामारीका कारण अवरुद्ध भएको उनका भतिज एवं पूर्व डिएसपी शिवजी श्रेष्ठले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू