मंगलबार, पुष ९, २०८१
16:29 | २२:१४

बेलायतमा २५ वर्षदेखि लाखे नाच

नेपाली लिङ्क जुन २०, २०२४

लन्डन । २५ वर्षअघि लन्डन उत्रिएपछि विनोद चिपालुले एउटा अठोट लिए, ‘बेलायतमा पनि लाखे नाच जीवन्त राख्छु । लाखे नाचबाटै नेपाललाई चिनाउंछु ।’

उनको अठोट न बेलायतको खुल्ला परिवेशमा डगमगायो, न व्यस्ततामा । नेपालमै आधुनिकताको प्रभावका कारण यो परम्परागत नाच संकटमा परेका बेला चिपालु भने बेलायतदेखि युरोपसम्म हरेक स्टेजमा लाखे नाचमै प्रस्तुत भइरहेका छन् । 

धिमे बाजापछि नेवार समुदायको अर्को पहिचान लाखे नाच काठमाडौंको मुख्य पर्व इन्द्रजात्राको प्रमुख आकर्षण मानिन्छ । 

लाखे नाच मनोरञ्जन मात्रै नभई यसले नेवार समुदायको आस्था र परम्परागत संस्कृतिलाई समेत प्रतिविम्बित गर्ने चिपालुको विश्वास छ । 

बेलायती नेपाली डायष्पोरामा लाखे नाच उच्चारण हुने बित्तिकै स्मृतिमा एकमात्र नाम आउंछ विनोद चिपालु ।

‘मेरो यति पारिश्रमिक भन्ने छैन् । मेरो एकमात्र उद्देश्य देश चिनाउने हो’, चिपालुले भने, ‘विशेष गरि नेपाललाई चिनाउने कार्यक्रममा मात्र गर्छु । जहां पायो त्यहीं र छाला जुत्ता लगाएर गर्दिन्, पवित्र चोखो भएर नाच्छु ।’

नेवार समुदायको विशेष जात्रा वा पर्वमात्र होइन्, यहां नेपालीले गर्ने महोत्सव र कार्यक्रममा लाखे नाचमार्फत प्रस्तुत हुन्छन् चिपालु । ‘बेलायतमा काम र व्यवसायको व्यस्तता त छ तर मनले चाहे सबै पुग्ने रहेछ’, उनी भन्छन् ।

उनीसंग नेपालबाटै जमानामा ल्याएको मुखुन्डो, पोशाक र गरगहना छन् । उनी मनदेखि नै नाच्छन्, नाच्न थालेपछि सबै बिर्सने गरि । कुनै जमाना १० मिनेटसम्म निरन्तर नाचेका उनी अचेल बढीमा ४-५ मिनेटमात्र नाच्न सक्ने बताउंछन् । स्टेज जानुअघि हल्का रिहर्सल गरे पुग्छ उनलाई ।


बेलायत आएपछि उनले युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूके, हिमालयन यती, पासा पुचः गुथि यूकेका गतिविधि र तमुधिं यूकेको नेपाली मेलामा लाखे नाच प्रदर्शन गर्दै आएका छन् । 

बेलायतमा लाखे नाच्न थालेको २५ वर्ष पुरा भएको उपलक्ष्यमा चिपालुले यो परम्परा अब दोश्रो पुस्तालाई हस्तान्तरण गर्दैछन् । 

‘बेलायतमै जन्मे हुर्केका पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्पराबारे जानकारी दिन र यसलाई पछिसम्म जीवन्त राख्न मैले हस्तान्तरण गर्न लागेको हुं’, उनले प्रष्टयाए ।

यही अगष्ट तेश्रो साता लन्डनमा दीप नाच आयोजना गर्ने उनको तयारी छ । सोही क्रममा लाखे महोत्सव गर्ने र नयां पुस्तालाई हस्तान्तरण गरिने उनले बताए । 

उक्त महोत्सवमा देवी देवताको १० अवतार गणेश, भैरव, मन्जुश्री, कालीनाच, ताण्डप, कुमारी, भेलु आदि नाच हुने चिपालु बताउंछन् । महोत्सवका लागि पासा पुचः गुथि यूके र इनास यूकेको समेत सहयोग छ ।

यसका लागि स्कटल्याण्डबाट चरण प्रधान, अमेरिकाबाट यज्ञमान शाक्य र नेपालबाट योगेश्वर अमात्य आउंदैछन् । नेपालबाट अन्य कलाकार र बेलायतवासी विदेशीलाई बोलाएर कार्यक्रम भव्य गर्ने सोच चिपालुको छ ।  

नेपाल छंदा नै लाखे नाच्न सिकेका हुन् उनले । चिपालुले ९ वटा स्कुलमा विद्यार्थीलाई यो नाच सिकाउने गर्थे ।

सन् २००० मा कलाकारका रुपमा कला देखाउन बेलायत आएका थिए चिपालु । उनको जन्मघर काठमाडौं छाउनी हो । १५ वर्षको उमेरदेखि कला क्षेत्रमा लागेका उनले नेपाल छंदा कयौं फिल्म, नाटकमा अभिनय गरे । 

यहां आएपछि ढिकी याद आयो नामक एल्बमका गीतमा उनले संगीत पनि भरेका छन् । 

उनले छोरीको नामबाट प्लमस्टिडमा विगत १२ वर्षदेखि मिनी मार्ट मिल्सा स्टोर चलाइरहेका छन् । अढाइ लाख पाउण्ड लगानी गरेर यो व्यवसाय थप विस्तार गरेको उनले सुनाए । 

छिट्टै मिल्सा टपरी रेष्टुरेन्ट शुरु गर्ने गृहकार्यमा पनि छन् उनी । उनलाई व्यवसायमा श्रीमति सविना श्रेष्ठ चिपालुको उल्लेख्य साथ छ ।

एक छोरा, एक छोरी र श्रीमतिका साथ लन्डन वुलवीचमा बस्छन् चिपालु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू