शनिबार, कार्तिक १०, २०८१
18:33 | २३:१८

बेलायतमा नेपाली चलचित्रमा ‘फूलटाइम’, पांचौं चलचित्र ‘उडल्याण्ड’ प्रिमियर तयारी (भिडियो)

नेपाली लिङ्क जुन २०, २०२४

लन्डन – आफ्ना हरेक चलचित्रमा नयांपन दिन र जोखिम सामना गर्न तयार हुने बेलायत रेडिंग निवासी फिल्म निर्देशक तथा निर्माता प्रेम लामा (प्रवल सोनाम घिसिङ) यतिखेर पांचौं चलचित्र ‘उडल्याण्ड’ रिलिजको तयारीमा जुटेका छन् ।

यही वर्ष जनवरी पहिलो सातादेखि करिब ४ महिना लगाएर बेलायतमै सम्पूर्ण छायांकन र सम्पादनपछि आउंदो जुलाई तेश्रो साता प्रिमियर शो गर्न फिल्म तयार छ । प्रिमियर २० जुलाईमा रेडिङस्थित पेभिलियन हलमा गर्ने तयारी भइरहेको लामाले जनाए ।

निर्माताहरु, प्राविधिक पक्ष र २४ जना कलाकार पनि बेलायतकै राखिएको छ उडल्याण्डमा ।

फिल्म बनाउन व्यवसायीहरु दावा स्याङबो, करम गुरुङ, पूर्ण पाख्रिन, नरेश पुडासैनी र रचना राईले एकलाख पाउण्ड बढी लगानी गरेका छन् ।

फिल्म निर्देशन, कथा र कन्सेप्ट लामाकै छ । यो प्रेमिस भिजन यूकेको प्रस्तुति हो ।

‘उडल्याण्ड’ का निर्माताद्वय करम गुरुङ र दावा स्याङबोका साथ् निर्देशक लामा

लामाले निर्देशन गरेका यसअघिका ४ वटा चलचित्र प्रायः नेपाली संस्कार, संस्कृति, परम्परा, धर्म र समसामयिक विषयवस्तुमा केन्द्रित थिए । पांचौं फिल्म उडल्याण्ड भने विल्कुलै पृथक भएको लामाले बताए ।

‘यो फिल्म फिक्सन बेस्ड छ । हाम्रो जीवनशैलीबाट फरक र वास्तविकतासंग कत्ति पनि मेल खान्न’, उनले आफ्नो फिल्मबारे सुनाए, ‘काल्पनिक कथावस्तुमा बनेको उडल्याण्ड हेर्न थालेपछि दिमागले सोच्न सक्दैन । फिल्म चलुन्जेल दर्शकलाई कौतुहलता र दिमागमा एक खालको पीडा भइरहन्छ ।’

निर्देशक लामाले सन् २००३ मा पहिलो फिल्म बनाएका थिए ‘मेनिका’ । यूकेमा सम्पूर्ण छायांकन गरि बनाइएको उक्त फिल्म नेपाली फिल्म इतिहासकै पहिलो थियो ।

सन् २०११ मा उनले ‘कसुर’ रिलिज गरे । सन् २०१५ मा यूटर्न, सन् २०१८ मा एटीन र अहिले उडल्याण्ड रिलिजको तयारीमा छ ।

पाचौं चलचित्रसम्म आइपुग्दा आफूले धेरै कुरा सिकेकाले फिल्म अझ परिष्कृत र उत्कृष्ट बनेको उनको भनाइ छ ।

‘फिल्म निर्माण मेरो रहरमात्र होइन, मन मष्तिस्क र रगतमै छ’, उनी भन्छन्, ‘मातृभूमि नेपाल, नेपाली, कला संस्कृति, संस्कार, धर्म जस्ता हरेक पाटोलाई चलचित्रमार्फत प्रष्फुटन गर्न पाउंदा म रमाउंछु । हरेक प्रस्तुतिमा बेग्लै कथा, विशेषता र फरक विषयवस्तु रोज्न मन लाग्छ ।’

बेलायतमा फिल्म निर्माण त्यति सजिलो छैन् । निर्देशक लामा पनि यसमा आर्थिक चुनौति निकै रहेको बताउंछन् । ‘फिल्म कि मनले बनाइन्छ कि धनले’, उनले भने, ‘म मन मष्तिस्कबाट बनाउंछु । प्रतिफल मेरा लागि गौण विषय हो ।’ फिल्मको प्राविधिक पक्षमा समेत दक्ष छन् उनी ।

उनको बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ अमेजनमा समेत उपलव्ध छ ।

उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मिएर यहीं हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । यसलाई दर्शकले निकै रुचाएका थिए ।

हेरौं निर्माता, निर्देशक प्रेम लामासंग नेपाली लिंकको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू