शनिबार, कार्तिक १०, २०८१
18:22 | २३:०७

वर्षाका बाबजुद राजु लामाको ओपन कन्सर्टमा झुमे बेलायतका नेपाली

नेपाली लिङ्क जुन १७, २०२४


लन्डन-  मगर संघ यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको ‘नेपाली ओपन कन्सर्ट’ यसपटक पनि आकर्षक कार्यक्रमसहित सम्पन्न भएको छ ।

शनिबार केन्टको मेडिस्टोनस्थत ‘केन्ट शो इभेन्ट ग्राउण्ड’ मा आयोजित ओपन कन्सर्टमा ‘मंगोलियन हार्ट’ ब्यान्डका चर्चित एवम् लोकप्रिय गायक राजु लामासहितका कलाकारले सांगीतिक प्रस्तुति गरे ।

वर्षाका बाबजुद खुला मैदानमै भएपनि राजु लामालाई सुन्न सयौंको संख्यामा उपस्थित दर्शकले धैर्यतापूर्वक दिनभर पर्खिएका थिए ।

साँझपख स्टेज चढेका गायक लामाले प्रस्तुत गरेका तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ, सायद तिम्रो बाटोमा..सहितका करिब एक दर्जन लोकप्रिय गीतमा दर्शक मज्जाले झुमे ।

सो अवसरमा नेशन पुन, यज्ञ विक, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरलगायत कलाकारले पनि आ-आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

त्यस्तै, ‘मगर गट ट्यालेण्ट २०२३’ विजेता रुबिया थापा, मिफ्रुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारले पनि आकर्षक नृत्य देखाए ।

मगर संघ यूकेकी अध्यक्ष सीता पुर्जा पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल थिइन् ।

सो अवसरमा स्थानीय मेयर तथा काउन्सिलर साथै बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु पनि अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रमको औपचारिक सत्र महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए भने सांस्कृतिक सचिव सरु राना गुरुङले संयोजन गरेको मनोरञ्जनत्मक सत्र सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजाले चलाएका थिए ।

‘एकताका लागि संगीत’ नारा दिइएको उक्त कन्सर्ट संघका उपाध्यक्ष होम रोकाले संयोजन गरेका हुन् ।   

तस्विर: दीपक मैथाने/शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू