बेलायतमा एनआरएनए अभियन्ता गौरी जोशीसँग अन्तरक्रिया
लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदमा दुई कार्यकालका महासचिव गौरी जोशीको सम्मानमा शुक्रवार यूकेमा स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार साँझ गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोमा जोशीको सम्मानमा एक कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताए । ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइसकेकाले संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ’- जोशीले भने ।
नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व, नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ । ‘विगतमा गल्ती सबैबाट भएको छ, गल्ती सबैले स्वीकार्नुपर्छ, गल्ती, कमी कमजोरी र विगतका अनुभवबाट पाठ सिक्नुपर्छ तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ उनको धारणा थियो ।
एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गरे ।
आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्याएको उल्लेख गर्दै जोशीले यस्ता कार्य गर्न गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताए ।
एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले संघ अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अब यसलाई एक ढिक्का बनाएर लैजान जोड दिए ।
आफूहरु केही गर्ने उद्देश्यले आएपनि सिमित व्यक्तिको स्वार्थका कारण संस्था नै धरापमा परेको बताउंदै केही गर्ने वातावरण मिलाउन जोशीलाई आग्रह गरे ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङले गैर आवासीय नेपाली संघको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै संघलाई सबै मिलेर अघि बढाउनुपर्ने र त्यसका लागि पहल गर्न जोशीलाई आग्रह गरे ।
अर्का अभियान्ता शेर सुनारले पनि पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरे ।
शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराईले पनि एनआरएनए ‘माउ बिनाको चल्ला’ जस्तो भएकाले यसलाई अभिवाकत्व दिएर अघि बढाउन सुझाव दिए ।
नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियारले जोशीको योगदानबारे उल्लेख गर्दै एनआरएनएलाई सही ढंगले अघि बढाउन सुझाव दिए ।
एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री, हेम गुरुङ, प्रसुना कंडेल, कमल कोने गुरुङ, बीरेन खड्का लगायतको उपस्थिति थियो ।
गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्डलगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमासमेत व्यस्त रहे । उनी आज शनिबार अमेरिका प्रस्थान गर्दैछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५