शनिबार, कार्तिक १०, २०८१
18:22 | २३:०७

ओपन कन्सर्टका लागि बेलायत आएका गायक राजु लामालाई मगर भवनमा स्वागत

नेपाली लिङ्क जुन ११, २०२४

लन्डन । बेलायतमा यही साता हुन लागेको नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् ।

मगर संघ यूकेको आयोजनामा यही शनिबार १५ जुनमा केन्टको मेडस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ को शो ग्राउन्डमा हुने कन्सर्टका प्रमुख आकर्षण लामा मंगलबार लन्डन उत्रिएका हुन् ।

लन्डन आएलगत्तै गायक लामालाई मगर संघ यूकेले सांझ एक कार्यक्रमबीच स्वागत गरेको छ । फार्नबरोस्थित मगर भवनमा संघकी अध्यक्ष सीता पुनले खादा र पुष्पगुच्छासहित संस्थाको तर्फबाट गायक लामालाई स्वागत गरिन् ।

स्वागत कार्यक्रममा मन्तव्य राख्दै गायक लामाले फेरि बेलायतका नेपालीमाझ उपस्थित हुन पाएकामा खुशी व्यक्त गरे । उनले बेलायतवासी नेपालीलाई कन्सर्टमा आउन निमन्त्रणा पनि गरेका छन् ।


मगर संघ यूकेका मिडिया सेक्रेटरी किशोर रानाले कन्सर्टबारे प्रकाश पार्दै १६ औं ओपन कन्सर्टसम्म आइपुग्दा करिब एकसय नेपाली राष्ट्रिय तथा स्थानीय कलाकारहरुलाई अवसर दिइसकेको बताए । रानाले मगर संघ यूकेले कन्सर्ट आयोजना गरेपनि यो सबै नेपालीको साझा कार्यक्रम भएको र यसको नारा ‘म्यूजिक फर युनिटी’ तय गरिएको प्रकाश पारे ।

महासचिव गुमानसिंह थापाले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक सचिव सरु गुरुङ राना र उपाध्यक्ष एवं ओपन कन्सर्ट संयोजक होम रोकाले विभिन्न प्रश्नको जवाफ दिएका थिए ।


हिथ्रो विमानस्थलमा स्वागत

यसअघि मंगलबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिंदा गायक लामालाई संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

संघकी अध्यक्ष सीता पुन, उपाध्यक्ष एवं ओपन कन्सर्ट संयोजक होम रोका, सचिव गोमानसिंह पुन, मिडिया सेक्रेटरी किशोर राना, कल्चरल सेक्रेटरी सरु राना गुरुङ, मगर संघ यूके युथका उपाध्यक्ष दीपक थापा माइथाने मगरलगायत पदाधिकारी उनको स्वागतार्थ विमानस्थल पुगेका थिए ।

कन्सर्टमा गायक लामाबाहेक सिक्का ब्यान्डका साथै नेसन पुन मगर, मुना थापा मगर, ललिता पुन मगर, यज्ञ विकसहितका अरु नेपाली राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

यसपटक कन्सर्ट हेर्न ४ हजार बढी दर्शक भेला हुने अपेक्षा छ । मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजेसम्म सञ्चालन हुनेछ।

कन्सर्टको टिकट अनलाइनमा अग्रिम खरिद गर्दा ३० पाउन्ड मात्रै लाग्नेछ। ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ । कन्सर्टस्थलमा लिंदा भने ४० पाउन्ड लाग्ने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू