शनिबार, कार्तिक १०, २०८१
18:25 | २३:१०

बेलायत आएका नयां नर्सहरुको सम्मानमा बेजिङस्टोकमा विशेष कार्यक्रम

नेपाली लिङ्क जुन ११, २०२४

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले बेलायत र नेपाल सरकार (जीटुजी) बीच भएको श्रमसम्झौता अन्तर्गत बेलायत आएका नेपाली नर्सहरुको पहिलो ब्याचलाई स्वागत तथा सम्मान गरेको छ ।

गत ९ जुन आइतबार ब्रुक भिलेज हल बेजिङस्टोकमा कार्यक्रम गरिएको हो ।

नवआगन्तुक नर्सहरुलाई रातो टिका लगाएर पास्टोरल केयर प्याक (एनएनए यूके लोगो अंकित पेन, झोला, डायरी, नेपाली मसला, जानकारी पुस्तक) प्रदान गरिएको थियो ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथी दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र विशेष अतिथी मोटिभेसनल स्पिकर तथा योग गुरु श्रीचन्द्रकला सखीले गरेका थिए ।

उक्त कार्यक्रममा गत मार्चदेखि मे अन्तिमसम्म विभिन्न चरण गरि नेपालबाट जीटुजी प्रोजेक्टमा बेलायत आएका ४२ जना नर्समध्ये ३९ र आफ्नै प्रयासमा आएका ५ जना नर्सहरु पनि सहभागी थिए । ति नर्सहरु हयाम्पसायर हस्पिटल ट्रष्ट आदिमा कार्यरत छन् ।

एसोसिएसनले यस प्रोजेक्टमा बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ र हयाम्पसायर हस्पिटल ट्रष्टसंग को–पार्टनरका रुपमा शुरु देखि नै काम गर्दै आएको थियो ।

सम्बोधनका क्रममा प्रमुख अतिथी खनालले नयां नर्सहरुलाई शुभकामना दिंदै एसोसिएसनले कम्युनिटी र नर्सहरुको वेलफेयरका लागि गरेको काम प्रशंसनीय रहेको बताइन् । उनले नर्सहरुका समस्या समाधानका लागि एसोसिएसनसंग दूतावास सहकार्य गर्न तत्पर रहेको समेत बताइन् ।

कार्यक्रममा विशेष अतिथी मोटिभेसनल स्पिकर तथा योग गुरु श्रीचन्द्रकला सखीले ‘स्ट्रेस म्यानेजमेन्ट’ र ‘वेल बिइङ’ बारे प्रेरणादायी प्रिजेन्टेसन दिएकी थिइन् ।

कार्यक्रममा नेपालबाट आएका सांसद तथा युवा तथा खेलकुद पूर्व मन्त्री डिगबहादुर लिम्बु, बेजिङस्टोक नेपलिज कम्युनिटी अध्यक्ष ओम गुरुङ, नोर्डन वार्ड बेजिङस्टोक एण्ड डिन बरो काउन्सिलका काउन्सिलर डा. पोल हार्भी, स्थानीय काउन्सिलर एबडेल फताहा, एसोसिएसनकी संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षहरु वासु लामिछाने र विनोदविकास सिम्खडा, सल्लाहकार नर्स कन्सल्टेन्ट सुमन श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

नर्स कन्सल्टेन्ट श्रेष्ठले आरसीएनबारे जानकारी दिएका थिए । नयां नर्सहरुका तर्फबाट अल्पना अधिकारीले मन्तव्य दिएकी थिइन् ।

एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले बेलायतमा नेपाली नर्सहरुको अवस्था र एसोसिएसनका गतिविधिबारे प्रिजेन्टेसन दिएकी थिइन् । उनले नर्सहरुलाई एसोसिएसनभित्र आवद्ध भएर व्यक्तिगत तथा व्यवसायिक विकास साथै समाजका लागि पनि योगदान गर्न अपिल गरिन् ।

अध्यक्ष गौतमले एसोसिएसनले यही शनिबारदेखि प्रत्येक दुई साताको अन्तरालमा सिभी राइटिङ, रिसर्च प्रपोजल, ग्रान्ट एप्लिकेसन्स, राइटिङ फर पब्लिकेसन, रेस्पोन्सिबल यूज अफ एआइबारे अनलाइन कोर्स शुरु गर्न लागेको जानकारी दिंदै सहभागी हुन इच्छुक सबैमा अनुरोध गरिन् ।

नेपालबाट आएका ति नर्सहरुको वेलफेयर, करिअर सपोर्ट र बेलायती परिवेशमा घुलमिल हुन सहयोग गर्दै आएको एसोसिएसनले स्थानीय समुदायसंग इन्टिग्रेसन गराउन ‘मिट एण्ड ग्रीट’ गरेको गौतमको भनाइ थियो । उनले नेपालबाट आएका ४२ मध्ये १२ जनाले पिन नम्बर समेत पाएर काम गरिसकेका जनाइन् । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभारसमेत व्यक्त गरिन् ।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका सामाजिक अगुवाहरु, एसोसिएसन 
पदाधिकारी, सल्लाहकारहरु, आजीवन सदस्यहरु, बेलायतमा कार्यरत नयां पुराना नर्सहरु लगायत सहभागी थिए ।

सो अवसरमा नाचगान र सांगीतिक प्रस्तुति पनि थियो । गायक दीपक थापाले रातो र चन्द्र सूर्य बोलको गीत गाए भने वरिष्ठ गायिका तथा नर्स शर्मिला बर्देवाले तारादेवीको शुभकामना भरि गीत गाएकी थिइन् । सो अवसरमा नव आगन्तुक नर्सहरुले पनि आफ्नो ‘टयालेन्ट’ देखाएका थिए । डिजे हेम बिष्टको थियो ।

कार्यक्रम संयोजन एसोसिएसनकी एरिया कोअर्डिनेटर उर्मिला श्रेष्ठले गरेकी थिइन् भने उनलाई समाजसेवी शिवजी श्रेष्ठले पनि सघाएका थिए ।

महासचिव श्रीजा डंगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष रस्मिता दर्लामीले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू