सोमबार, माघ २१, २०८१
03:50 | ०९:३५

अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सात लाख २४ हजार सहयोग

रासस जुन ४, २०२४

काठमाडौँ, जेठ २२ गते । अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरू सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियास्थित सञ्जालले गत अप्रिलमा नेपाली साङ्गीतिक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवम् मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनर्स्थापनाका लागि आश्रमले सहयोग गरेको बताउनुभयो ।

यस्तै, आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरूलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरूको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताउनुभयो । उहाँले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू