लेबर उम्मेदवार प्रिमेश पटेलले गरे नेपाली समुदायसंग अन्तरक्रिया
'परिवर्तनका लागि मतदान गर्नोस्'
लन्डन – ह्यारो इष्ट निर्वाचन क्षेत्रबाट संसद सदस्यका लागि लेबर पार्टीका उम्मेदवार प्रिमेश पटेलले आउँदो ४ जुलाईमा हुन गइरहेको चुनावमा परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
शनिबार दिउँसो स्ट्यानमोरमा नेपाली समुदायका अगुवाहरुसंग कुराकानी गर्दै पटेलले आउँदो चुनाव पछि लेबर सरकार गठन भएमा एनएचएसको लामो प्रतीक्षा सूची घटाउने, सरकारी स्कुलहरुमा पठनपाठन स्तरीय तुल्याउने, रोजगारीका थप अवसरहरु सिर्जना गर्ने र चोरी तथा अपराधक घट्नाहरुमा कमी ल्याउने बताए।
उनकै शब्दमा १४ वर्ष लामो टोरी अव्यवस्था र अराजकताबाट सुशासन र जवाफदेहीताको पक्षमा मतदान गर्न उनले आग्रह गरे।
पटेलले आफूले १९ वर्षसम्म एनएचएसमा काम गर्दा नेपालीहरुलाई अत्यन्त सहयोगी, मिलनसार र अनुशासित समुदायको रुपमा पाएको बताए। उनले अहिले कैयौं नेपालीले सफलतापूर्वक व्यवसायहरु सञ्चालन गरिरहेको बताउंदै लेबर सरकार बनेमा त्यसले उद्यमीहरुलाई प्रोत्साहित गर्ने धारणा व्यक्त गरे। आफू निर्वाचित भएमा युवाहरु प्रोत्साहित हुने र भविष्यमा नेपाली युवाहरु पनि संसदमा पुग्ने बाटो खुला हुने उनले विश्वास व्यक्त गरे।
उक्त अन्तरक्रियामा बोल्दै बर्न्टओकबाट निर्वाचित काउन्सिलर कमल गुरुङले नेपाली लगायत आप्रवासी समुदायको समस्या बुझेको र आप्रवासी समुदायलाई प्रतिनिधित्व गर्ने एक मात्र दल लेबर भएको बताए। उनले सबै नेपाली समुदाय एकजुट भएर लेबर पार्टीलाई जिताउन अपिल पनि गरे।
विगतमा प्रिमेश पटेलसंग सहकार्य गरेका लेबर पार्टी आवद्ध अभियन्ता राजेन्द्र पुडासैनीले नेपाली समुदायलाई नजिकबाट चिन्ने, एक मेहनति र इमान्दार राजनीतिकर्मी भएको बताए। ‘नेपालका मित्र प्रिमेश संसदमा निर्वाचित भएमा यसले आप्रवासी समुदायको मनोबल बढाउने छ’, उनले भने।
लन्डनमा लेबर पार्टीका उपनेता काउन्सिलर डिन गिलीगनले ह्यारो इष्टमा लेबर पार्टीका उम्मेदवारले उम्मेद्वारी फिर्ता दिएको भन्ने जस्तो झुट्ठा प्रचार भइरहेको तर त्यस्तो प्रचारमा विश्वास नगर्न आग्रह गरे। उनले ह्यारो इष्टबाट निर्वाचित टोरी सांसद बब ब्ल्याकम्यानले संसदमा कसको पक्षमा मतदान गरेका छन्, त्यो हेर्न पनि आग्रह गरे।
अन्तरक्रियामा नेपाली समुदायका अगुवाहरुले सोधेको प्रश्नको पटेलले जवाफ दिएका थिए। उनले ४ जुलाईमा हुने मतदानमा पोष्टल भोट तथा पोलिङ बुथमै गएर लेबर पार्टीका उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह पनि गरे।