बुधबार, पुष १०, २०८१
05:21 | ११:०६

लन्डन वुल्लीचमा बुद्ध जयन्ती मनाउन नेपालबाट ल्याइए मूर्ति र क्यानभास

नेपाली लिङ्क जुन १, २०२४

फाइल तस्विर- दिनेश कुमार

लन्डन । बुद्ध फाउण्डेशन यूकेले भोलि २ जुन आइतबार लन्डन वुल्लीचमा मनाउन लागेको बुद्ध जयन्ती प्रयोजनका लागि नेपालबाट बुद्ध मूर्ति र क्यानभास ल्याइएको छ ।

नेपालबाट साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ लन्डन ल्याइएको फाउण्डेशन अध्यक्ष दीपक श्रेष्ठले जनाए ।

अतिथीहरुले बुद्ध मूर्तिमा मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गर्नेछन् । उक्त मूर्तिका लागि जमघट परिवार यूकेले ७०० पाउण्ड प्रायोजन गरेको हो ।

फाउण्डेशनले २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण वुल्लीचको जनरल गोर्डन स्क्वायरमा पृथक ढंगले मनाउंदै छ । यसअघि यो कार्यक्रम सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको थियो ।

भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित गर्न लागिएको उक्त कार्यक्रम अतिरिक्त गतिविधिका साथ सम्पन्न गर्ने तयारी छ ।

यसपटक बालबालिकाबीच बुद्ध, लुम्बिनी केन्द्रित पेन्टिङ प्रतिष्पर्धा गराइने छ । बालबालिकाले घरमा बनाएको चित्र र फिल्डमा प्रत्यक्ष बनाएको चित्रको बेग्लै क्याटगोरिजमा पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जनाए । कार्यक्रममा ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्ध सम्बन्धि मन्तव्य दिंदैछिन् ।

बालबालिकालाई बुद्ध दर्शन सम्बन्धि जानकारी दिन पुस्तक र नेपाल पोष्टर समेत प्रदर्शन गरिनेछ ।

अध्यक्ष श्रेष्ठले कार्यक्रममा विगत जस्तो भाषण नराखी बुद्ध प्रवचन, विविध नृत्य, दीप प्रज्वलन जस्ता क्रियाकलाप गरिने बताए । नेपाली राष्ट्रिय कलाकारहरुको परफर्मेन्स थप आकर्षण रहनेछ ।

क्यानभास

दिउसो २ देखि सांझ ७ बजेसम्म हुने उक्त कार्यक्रममा प्रमुख अतिथी हुनेछन् भेट्रान बेलायती राजनीतिज्ञ वीरेन्द्र शर्मा र विशेष अतिथी राजदूत ज्ञानचन्द्र आचार्य र स्थानीय मेयर जीत रानाभाट ।

कार्यक्रममा स्वतस्फूर्त स्वयंसेवा गर्न ५० जनाले नाम लेखाइसकेको अध्यक्ष श्रेष्ठले बताए । उनले ति स्वयंसेवकहरुलाई १० बजे नै कार्यक्रमस्थलमा आएर सहयोग गरिदिन अनुरोध गरेका छन् ।

कार्यक्रमका लागि लगभग १० हजार पाउण्ड सहयोग प्रतिवद्धता आइसकेको छ । ‘यसपटक खर्च पनि बढी छ । हामीले कार्यक्रम व्यापक बनाउन वुल्लीचको जनरल गोर्डन स्क्वायरस्थित बिग स्क्रिनमा विगत एक सातादेखि विज्ञापन दिइरहेका छौं, नेपालबाट मूर्ति, क्यानभास ल्याइएको छ’- श्रेष्ठले भने, ‘सम्पूर्ण दाता, स्वयंसेवक र शुभचिन्तकहरुको सहयोगका कारण हामी निकै उत्साहित छौं।’

अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई सम्भव भएसम्म आफ्नो मौलिक नेपाली पोशाकमा आइदिन पनि अपिल गरे । नेपाली संघसंस्थाहरु ब्यानरसहित आउन सक्ने र ब्यानरहरु कार्यक्रमस्थलमा टांगिने उनले बताए ।

फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रम संयोजन गरेकी छन् । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास र पर्यटन बोर्डको पनि सहयोग छ ।

नेपालबाट ल्याइएको बुद्ध मूर्ति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू