बालबालिकाको सहयोगार्थ च्यारिटी इभेन्टमा जुटयो पर्वत वेलफेयर सोसाइटी यूके
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूके आफ्नो गृहजिल्लाको शैक्षिकस्तर अभिवृद्धिको पवित्र उद्देश्यसहित एक परोपकारी कार्य गर्न जुटेको छ ।
सोसाइटीले देशमा ८० प्रतिशतभन्दा बढी साक्षरता दर बावजुद पर्वतका धेरै अल्पसंख्यक बालबालिकालाई अझै पनि आवश्यक शैक्षिक स्रोतहरूमा पहुँच नभएको भन्दै उक्त अत्यावश्यक मुद्दा सम्बोधन र आधारभूत शैक्षिक आवश्यकता पूरा गर्न कोष जुटाउने उद्देश्यले एक च्यारिटी इभेन्ट गर्ने भएको हो ।
सोसाइटीले आउंदो ७ जुलाई दिउसो अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी इभेन्ट गर्न लागेको जनाउंदै अध्यक्ष अप्सरा गुरुङले सहभागिता र आर्थिक सहयोगका लागि सबैमा अपिल गरेकी छन् ।
उनले पर्वत जिल्ला भित्रका सबै सातवटै नगरपालिका र गाउँपालिकासँग सहकार्य गरी सहयोग आवश्यक पर्ने समुदायसम्म पुग्ने सुनिश्चितता पनि गरेकी छन् । यही वर्ष सकिने आफू नेतृत्वको कार्यसमितिबाट प्रभावकारी काम होस् भन्ने चाहना अध्यक्ष गुरुङको छ ।
महासचिव सञ्जय भण्डारीले सबैको सहयोगले ति बालबालिकाको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गर्दै च्यारिटीमार्फत उनीहरुको शिक्षा जारी राख्न र उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक उपकरणहरू प्रदान गर्न सकिने बताए ।
दिउसो २ बजेदेखि हुने उक्त च्यारिटी इभेन्ट सफल बनाउन तयारी शुरु भइसकेको सोसाइटीका वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले जनाए ।
सन् २००२ मा स्थापित सोसाइटीले यसअघि पनि नेपाल र बेलायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको जनाउंदै उपाध्यक्ष भरत पौड्यालले आउंदो च्यारिटीबाट संकलित कोषको समेत सही सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।